• १ असोज २०८१, मङ्गलबार

सुदूरपश्चिम प्रदेश सभाका प्रतिपक्षद्वारा बजेट भाषण बहिस्कार

blog

प्रतिपक्षद्धारा सुदूरपश्चिम प्रदेश सभाकाे बजेट भाषण बहिस्कार । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, भदौ ३१ गते । संविधान अनुसार बजेट ल्याउन मिल्दैन भन्दै सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध गरेका प्रतिपक्षले बजेट भाषण हुन थालेपछि बैठक नै बहिस्कार गरेका छन् ।

सरकारले संशोधित बजेट ल्याउन खोजेपछि प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्यहरूले पहिले नाराबाजी गरेका थिए । २० मिनेटपछि फेरि सुरु भएको बैठकमा बजेट भाषण हुन थालेपछि भने उनीहरूले बैठक बहिस्कार गरेर बैठक कक्ष छोडेका छन् ।

माओवादीका संसदीय दलका नेता मानबहादुर धामीले प्रदेश सभामा बोल्दै कहीँ नभएको जात्रा हाडी गाउँमा भन्दै आज असार हो कि भदौ ३१ हो भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, हामीले व्यवस्थालाई कता डोर्‍याइरहेका छौ, संविधानले असार १ गते बजेट ल्याउनु भन्छ तर आज किन ल्याइँदै छ । 

उहाँले प्रदेश प्रमुखको भूमिका ठिक नहुँदा असार १ गते तत्कालीन सरकारले ल्याएको बजेट पारित नभएको आशय पनि व्यक्त गर्नुभयो । उहाँले आज ल्याउन थालिएको बजेट कार्यान्वयनमा समस्या हुने पनि बताउनुभयो ।

नेता धामीले बोलीसकेपछि माओवादी र समाजवादीले बैठक कक्ष छोडेका हुन । उनीहरूले गैर संवैधानिक तरिकाले बजेट ल्याउन मिल्दैन भन्दै प्रदेश सभा बैठक बहिस्कार गरेका थिए । प्रतिपक्षको बेच्चमा राप्रपाका खेमा विष्ट मात्र रहनुभएको छ ।

विपक्षीले प्रदेश सभा बैठक बहिस्कार गरेपछि सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट भाषण गरिरहनु भएको छ ।

असार १ गते तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले बजेट ल्याएको थियो तर सङ्घीय सरकारमा परिवर्तन आएपछि सुदूरपश्चिममा पनि सोडारीको सरकारले बजेट पास गराउन सकेको थिएन । बजेट पास नहुँदा दुई महिनादेखि सुदूरपश्चिम बजेट विहीन थियो ।