• १ असोज २०८१, मङ्गलबार

चिस्यान अभावमा पर्वतमा ३७ लाखको खोप नष्ट

blog

गणेश पौडेल

पर्वत, भदौ ३१ गते । जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा आवश्यक चिस्यान केन्द्र नहुँदा यस वर्ष मात्रै रु. ३७ लाख ३१ हजार मूल्य बराबरको खोप नष्ट भएका छन् । कार्यालयले यस आर्थिक वर्षमा मात्रै १२ लाख ९५ हजार डोज खोप खेर गएको तथ्याङ्कमा उल्लेख गरेको छ । 

कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार जिल्लामा प्राप्त भएका खोपमध्ये यस आ.व. २०८०÷०८१ मा ३४.७ प्रतिशत खेर गएका हुन् । चिस्यानसहित फिर्ता नगर्ने, खोप भण्डारणका लागि आवश्यक तापक्रमसहितको चिस्यान नहुँदा ११ प्रकारका खोप खेर गएको उहाँले बताउनुभयो । केही भायलहरु खोलेपछि एकैपटकमा धेरैलाई लगाउनुपर्ने भएकाले खेर जाने र केही तापक्रम मिलाउन नसक्दा खेर जाने गरेको उहाँको भनाइ छ ।

तथ्याङ्क अनुसार बिसिजीको ९२ प्रतिशत, दादुरा रुबेलाको ७३ प्रतिशत, डिपिटी–हेप बी–हिबको ४८.२ प्रतिशत खेर गएका हुन् । त्यस्तै पिसिभिको २५.९ प्रतिशत, पोलियोको ५१.४ प्रतिशत, टिसिभीको ६१.६ प्रतिशत, टिडीको ६८.६ प्रतिशत खोप खेर गएको शर्माले जानकारी दिनुभयो । 

दादुरा रुबेलाको दुई लाख ८६ हजार रुपियाँ‚ डिपीटी–हेप बी–हिबको एक लाख १० हजार, पिसिभीको एक लाख ३२ हजार, एफआइपिभीको एक लाख ५८ हजार, जेईको एक लाख ४४ हजार रुपियाँ‚ पोलियोको एक लाख १७ हजार रुपियाँ, रोटाको तीन हजार रुपियाँ, टिसिभीको एक लाख ७८ हजार रुपियाँ र टिडीको एक लाख चार हजार रुपियाँ खेर गएको उहाँको भनाइ छ ।

खोप खेर जाने दर मुलुकभर र अन्य देशमा पनि बाध्यतावश भइरहने र यो अवस्था शून्यमा झर्न नसक्ने कार्यालय प्रमुख शर्माले बताउनुभयो । विगतको तुलनामा खोप खेर क्रमशः कम हुँदै गएको भए पनि आवश्यक उपकरण भएमा भने सुरक्षित राख्न सकिने बताउनुभयो । यसरी सुरक्षित राख्न सकेमा खेर जाने समस्या कम हुने उहाँले बताउनुभयो। 

"बिसिजीको एक भाइलमा २० जनालाई लगाउने खोप हुन्छ," उहाँले भन्नुभयो, "खोप लगाउने बेला एकजना मात्रै आउनुभयो भने उहाँलाई लगाइदिनुपर्छ । यस्तो बेला बाँकी १९ डोज खेर जान्छ ।"  

उहाँका अनुसार यस वर्ष कार्यालयले भने खोपमा १ सय १२ प्रतिशत प्रगति हासिल गरेको छ । जिल्लाभन्दा बाहिरबाट समेत खोप लगाउन आउने भएकाले यसको सङ्ख्या बढेको उहाँको भनाइ छ । केही बालबालिकाले जिल्ला बाहिर गएर लगाउने र केही जिल्ला बाहिरका पनि आउने भएकाले यस्तो भएको उहाँको छ । जिल्लाका खोप लगाउनुपर्ने उमेर समूहका सबैले पूर्ण खोप पूरा गरेपछि जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिसकिएको छ ।