• १ असोज २०८१, मङ्गलबार

साङ्घाईमा बेबिन्का आँधी

blog

साङ्घाई, भदौ ३१ गते । चीनमा आएको यस वर्षको १३ औं आँधी ‘बेबिन्का’ सोमबार बिहान ७ः३० बजे साङ्घाईमा अवतरण गरेको छ ।

साङ्घाई केन्द्रीय मौसम विज्ञान वेधशालाका अनुसार आँधीको केन्द्र नजिकै पुदोङ जिल्लाको लिङ्गाङ क्षेत्रको समुद्री किनारमा अवतरण भएको छ । साङ्घाइमा अवतरण गर्ने समयमा आँधीको अधिकतम शक्ति ४२ मिटर प्रति सेकेण्डसम्म पुगेको बताइएको छ ।

साङ्घाईमा ७५ वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी मानिएको ‘बेबिन्का’ का कारण व्यापक हावाहुरीसहित मुसलधारे वर्षा भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरमा आँधीका कारण रूखहरु ढलेको र बत्तीका खम्बाहरु ढलेको देखिएको छ । मध्य–शरद ऋतु पर्वको तीनदिने बिदाको सोमबार दोस्रो दिन हो । साङ्घाईका अधिकारीहरूले त्यहाँका बासिन्दालाई अति आवश्यक नपरेसम्म घरभित्रै बस्न सल्लाह दिएका छन् ।

चीनको मौसमविज्ञान प्रशासनको ‘साङ्घाई टाइफून इन्स्टिच्युट’का उपप्रमुख ताङ जीले आँधीको प्रभाव सोमबार रातीसम्म तीव्र रहने बताउनुभयो ।

राज्यको बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले आइतबार पूर्वी चीनको अनहुई प्रान्तका लागि चौथो तहको आपतकालीन प्रतिक्रिया सक्रिय पारेको छ भने साङ्घाई र झेजियाङमा प्रतिकार्यलाई तेस्रो तहमा पुर्‍याएको छ ।

‘बेबिन्का’ का कारण साङ्घाईमा उडानहरू रद्द भएका छन् शहरका यात्रुबाहक पानीजहाजको आवागमनलाई रोकिएको छ । साङ्घाई रेलवे स्टेसनले पनि आइतबारदेखि सोमबारसम्म शहर भएर जाने विभिन्न रुटमा यात्रुवाहक रेल सेवा बन्द गरेको छ ।

“साङ्घाई डिज्नील्याण्ड, डिज्नीटाउन र विशिङ स्टार पार्क सोमबार बन्द छन् र दुई रिसोर्ट होटलले आन्तरिक पाहुनालाई सेवा प्रदान गरिरहेका छन्,” साङ्घाई डिज्नी रिसोर्टले एक विज्ञप्ति जारी गरी दिएको जानकारीमा भनिएको छ । रासस/एएफपी