• १ असोज २०८१, मङ्गलबार

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

blog

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की । फाइल तस्बिर

विराटनगर, भदौ ३१ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य छन् । यस्तै यहाँ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसद छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलोपटक वैशाख  ३१ गते विश्वासको मत लिनुभएको थियो । असोज २ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ । रासस