• २१ पुस २०८१, आइतबार

अवैध चिरान काठसहित एक पक्राउ

blog

कार्कीको घर कम्पाउण्डबाट बरामद भएका साखु जातका चिरान काठ ।

रवीन्द्र उप्रेती 

बर्दिबास, भदौ ३१ गते । वनकर्मीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बर्दिवास –३ गौरीडाँडास्थित स्कुल टोलका ६० वर्षीय ढालबहादुर कार्कीलाई सखुवाको ७ थान चिरान काठसहित पक्राउ गरेको सबडिभिजन वन कार्यालय माईस्थानले जनाएको छ । 

बरामद काठ करिब ७ क्यूफिट  छ । सुराकीले दिएको सूचनाको आधारमा सबडिभिजन वन कार्यालय महोत्तरीका प्रमुख कृष्णकुमार पटेलको नेतृत्वमा खटिगएको बर्दिबास, माइस्थान र गढन्ता सबडिभिजन कार्यालय तथा सशस्त्र वन सुरक्षा शाखाको संयुक्त टोलीले आज विहान करिब ७ बजेतिर तलासी लिँदा कार्कीको घर कम्पाउण्डबाट सो चिरान काठ बरामद भएको हो ।

काठसहित पक्राउ परेका कार्कीलाई अनुसन्धानका लागि माइस्थानस्थित सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखिएको जनाइएको छ । काठसमेत बरामद भएकाले कार्कीमाथि वन ऐनअनुसार बर्दिबास सबडिभिजन प्रमुख श्वेता झाको नेतृत्वमा अनुसन्धान अघि बढाइएको छ । 

डिभिजन वन कार्यालयका अनुसार पक्राउ परेका कार्कीका छोरा दिनेश कार्कीमाथि यसअघिको घटनामा खोजी तथा अनुसन्धान कर्य भइरहेको छ । कार्कीले नजिकको वनबाट अवैधरुपमा काठ चोरी ल्याउने र घरमै सञ्चालन गरेको विनादर्ताको फर्निचर उधोगमा झ्याल ढोकाको चौखटलगायत मागअनुसारको फर्निचर बनाएर अवैध व्यवसाय गर्दैआएको प्रारम्भिक अनुसन्धानमा खुलेको डिभिजन वन कार्यालयको आरोप छ । 

यसअघि पनि वनकर्मीले जङ्गली क्षेत्रसँग जोडिएका विभिन्न स्थानमा छापा मारी तस्कर, २ थान मोटरसाइकलसहित ७८ क्युफिट काठ बरामद गरेको थियो ।