• १४ मंसिर २०८१, शुक्रबार

किसानद्वारा खुटी नहर चलाउन माग

blog

खुटी नहर सञ्चालनका लागि आयोजित किसान भेलाका सहभागी ।तस्बिर : जीवछ यादव

लहान समाचारदाता

लहान, भदौ ३१ गते । सिँचाइका लागि निर्माण सम्पन्न भएको हेडवक्र्सबाट नहरमा पानी जोडेर सञ्चालन गर्न किसानले माग गरेका छन् । 

लहान–१० स्थित खुटी नहर सञ्चालनमा आएपछि दक्षिणी भेगका १० वटा वडाका हजारौँ बिघा खेतमा सिँचाइ हुने छ । करिब नौ करोड रुपियाँको लगानीमा निर्माण भएको हेडवक्र्सलाई सञ्चालन गर्न पुरानो नहर मर्मतका लागि दुई करोड खर्च गरे सञ्चालनमा आउने लहान–२३ का रामविलास यादवले बताउनुभयो । उहाँका अनुसार नहर सञ्चालन गर्नुको सट्टा लहान नगरपालिकाले सहरी क्षेत्रको फोहोर निकासीका लागि छोपिएको ड्रेन बनाउन छ करोड रुपियाँमा टेन्डर गरेर कार्य सुरु गर्न तयारी थालेपछि १० वटै वडाका किसान नहर सञ्चालनका लागि शनिबार लहान–११, सिर्जना पुस्तकालयमा भेला भएर यो माग गरेका हुन् । 

चन्द्र शमशेरको पालामा नै बनेको नहर केही दशकयता पुरिएर पानी निकास नभइरहेकाले पूर्वनगरप्रमुख मुनि साहले आफ्नो कार्यकालमा नहर सञ्चालनका लागि हेडवक्र्स निर्माण गर्नुभएको अर्का किसान अगुवा लहान–११ का राजेन्द्रप्रसाद साहले बताउनुभयो । लहान–२, ३, ११, १२, १९, २०, २१ र २२ का किसान भेला भएर १०५ सदस्यीय सङ्घर्ष समिति गठन गरेर नगरप्रमुखलाई नहरलाई ड्रेन होइन, नहरकै रूपमा रहन दिई सिँचाइका लागि बाँकी रहेको काम थाल्न ज्ञापनपत्र बुझाइने किसानको अगुवाइ गरिरहेका नेपाली कांग्रेसका सन्तोषकुमार चौधरी, एकीकृत समाजवादीका सत्यनारायण यादव र नेकपा (एमाले) का राजेन्द्रप्रसाद साहले बताउनुभयो । उहाँहरूले किसानको मागलाई बेवास्ता भए किसान आन्दोलन चर्किने चेतावनीसमेत दिनुभयो । 

खुटी नहर सञ्चालनका लागि हरेक चुनावमा चुनावी मुद्दा बनिरहेको प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । नहरलाई ड्रेन बनाउन नहुने कार्यलाई नगरपालिकाले टेन्डरसमेत गरेर किसानविरोधी काम भइरहेकाले प्रदेश सभामार्फत सचेत गराएको पनि उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “किसानका न्यायोचित माग पूरा नगरपालिकाले गर्नेमा विश्वस्त छु । किसानको माग सम्बोधन नभए किसानलाई साथ दिन म पनि किसान आन्दोलनमा सहभागी हुने छु ।”

पूर्वनगरप्रमुख मुनि साहले बालुवाको बाँध बाँधेर नहरमा पानी चलाउने प्रयोग गरेलगत्तै हेडवक्र्स निर्माणको कार्य थालेर सम्पन्न गरेको बताउँदै नहर सञ्चालनको कार्य थाल्न आग्रह गर्नुभयो । “नहर सञ्चालन नगरे किसानले थाल्ने आन्दोलनमा साथ रहने छु,” उहाँले प्रस्ट्याउनुभयो । 

यता विरोधका लागि विरोधको कुनै तुक नरहेको नगरप्रमुख महेशप्रसाद चौधरी बताउनुहुन्छ । किसानको खेत खेतमा विद्युत् मिटर जडान र विद्युत् मिटरको महसुलसमेत नगरपालिकाको तिरिरहेको बताउँदै उहाँले भन्नुभयो, “किसानको सिँचाइको समस्या समाधान नगरपालिकाले गर्दै आइरहेको छ । सहरी क्षेत्रको लेदोजन्य फोहोर र सौन्दर्यीकरणका लागि ड्रेन निर्माण कार्य अघि बढाएका छौँ । काम गर्न सबै नगरवासीलाई माहोल बनाउन आग्रह गरिरहेको समयमा काममा अवरोध पु¥याउनु हुँदैन । किसानसँग वार्ता गरेर यस समस्यालाई समाधान गर्न नगरपालिका तयार छ ।”