• २१ पुस २०८१, आइतबार

सरकारी मूल्यभन्दा छ गुणा बढी मूल्य माग

blog

अरनिको राजमार्ग विस्तार अन्तर्गत जग्गा अधिग्रहण गर्नुपर्ने बनेपा नगरपालिका–६ र धुलिखेल नगरपालिका–४ को सीमा क्षेत्र ।तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता

बनेपा, भदौ ३१ गते  । अरनिको राजमार्ग विस्तारका क्रममा जिल्लाको बनेपा नगरपालिका र धुलिखेल नगर क्षेत्रभित्र पर्ने केही जग्गा अधिग्रहण गर्नुपर्ने भएपछि स्थानीय जग्गाधनीले सरकारी मूल्यभन्दा करिब छ गुणा बढी मूल्य माग गरेका छन् । 

सडक विस्तारका क्रममा बनेपा नगरपालिका–६, धुलिखेल नगरपालिका–४, बाँसघारी र पाँचकुमार पेट्रोल पम्पनजिक सवारीको गति बढाउनका लागि जग्गा अधिग्रहण गर्नुपर्ने भएपछि स्थानीयवासीले मालपोत कार्यालयले निर्धारण गरेको मूल्यभन्दा छ गुणा बढी मूल्य माग गरेका हुन् । 

नेपाल सरकारले अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्म करिब १६ किलोमिटर सडक स्तरोन्नति तथा विस्तारको काम गर्दै आएको छ । सडक विस्तारका क्रममा सूर्यविनायकदेखि १४ किमी दुई मिटरदेखि १४ किमी छ सय मिटरसम्मको करिब चार सय मिटर जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था रहेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाले जनाएको छ । “हामीले बनेपा र धुलिखेलको सिमानामा रहेको करिब चार सय मिटर जग्गा अधिग्रहण गरी सडकको मोड सुधार गरी सवारीको गति बढाउनका लागि उक्त स्थानको जग्गा अधिग्रहण गर्न जग्गाधनीसँग दुई पटक छलफल गरिसकेका छौँ तर उहाँहरूले हामीले दिन सक्नेभन्दा धेरै गुणा बढी जग्गाको मूल्य माग गर्नुभएकाले दिन सक्ने अवस्था छैन,” आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले भन्नुभयो । उहाँले जग्गा अधिग्रहणका लागि स्थानीय जग्गाधनीसँग पुनः छलफल अघि बढाइने बताउनुभयो । “अहिलेको अवस्थामा सडक स्तरोन्नति गर्दा प्रतिघण्टा ३५ किलोमिटर दुरी हुने र सडकको डिजाइनमा प्रतिघण्टा ४० किलोमिटर उल्लेख गरिएकाले हामीले सवारीको गति बढाउनका लागि नै करिब पाँच रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो,” उहाँले भन्नुभयो । 

सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बनेपा नगरपालिका–६ र धुलिखेल नगरपालिका–४ को करिब पाँच रोपनी तीन आना जग्गा अधिग्रहण गर्ने भएको हो । आयोजनाले ती दुई वडाका ११ जग्गाधनीका १७ कित्ता जग्गा अधिग्रहणका लागि छलफल अघि बढाएको छ । सडक आयोजनाले जग्गा अधिग्रहण गर्न खोजेपछि स्थानीय जग्गाधनीले प्रतिआना जग्गाको मूल्य ६५ लाख रुपियाँ माग गरेका छन् । जग्गाधनीले प्रतिआना ६५ लाख रुपियाँ माग गरेपछि जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्ने कि अहिलेकै अवस्थामा सडक विस्तार गर्ने भन्ने विषयमा आयोजना अन्योलमा परेको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले बनेपातर्फको क्षेत्रको जग्गाको मूल्य प्रतिआना १२ लाख ५४ हजार रुपियाँ र धुलिखेलतर्फको जग्गाको मूल्य प्रतिआना १० लाख ६६ हजार रुपियाँ निर्धारण गरेको छ । सडक आसपासका जग्गाधनीले मालपोत कार्यालयको मूल्यभन्दा करिब छ गुणा बढी मूल्य माग गरेका हुन् । 

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८१ मा जग्गा प्राप्ति ऐन, २०३४ को दफा १६ को उपदफा (२) पछि उपदफा (३) थप गरी ‘यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए पनि यस दफाबमोजिम मुआब्जा निर्धारण गर्दा रजिस्ट्रेसनको प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कन तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण गरिने छैन’ भनी उल्लेख गरिएको छ ।