• २९ भदौ २०८१, शनिबार

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत सार्वजनिक

blog

बेनीको बजार गीतको म्युजिक भिडियोको बिमोचन गर्नुहुँदै सर्जक तथा गायिका मन छन्त्याल लगायत । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ २९ गते । 
बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा पुनर्निर्माण गरिएको हो ।

शनिबार म्याग्दी जेसिज र सामाजिक विकास कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रमका बिच पुनर्निमित म्यूजिक भिडियोको गण्डकी प्रदेश सभाका सदस्य रेशम जुग्जाली र गीतका सर्जक तथा गायिका मन छन्त्यालले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा सक्रिय हुँदै आएको म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ रूपमामा छायाङ्कन गरी पुनर्निर्माण गरेको हो ।

स्वर्गीय टिकाबहादुर श्रेष्ठले रचना गरेको उक्त गीतमा सर्जक श्रेष्ठ र उहाँको श्रीमती मन छन्त्यालले पहिलो पटक बेनीको बजार गीत गाउनुभएको थियो । विसं २०३१ मा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि विश्वभरका नेपालीमाझ उक्त गीतले चर्चा पाएको थियो । यो गीतलाई पछि राजु परियार र बिमाकुमारी दुराको स्वरमा समेत रेकर्ड गरेर बजारमा ल्याइएको थियो ।

गीतको पुनः ताजकी गर्न र स्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसँगै नयाँ शब्द सङ्कलन समेत गरेर बेनीको बजार गीतलाई पुनर्निर्माण गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरूपमा रेकर्ड गरेर म्युजिक भिडियो तयार पारिएको निर्देशक डिके पुनले बताउनुभयो । म्युजिक भिडियो सदरमुकाम बेनीबजार, गलेश्वरधाम र लभ्लिहिल क्षेत्रमा छायाङ्कन गरिएको छ । 

मोडल गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गरेको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारहरूले नृत्य र अभिनय गरेका छन् ।

विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाउनुभएको थियो ।  उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो । गीतका सर्जक श्रेष्ठको निधन भएकाले उहाँकी धर्मपत्नीको सहमतिमा गीत र म्युजिक भिडियोलाई पुनः निर्माण गरिएको  जेसिजका शाखा अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

यसैगरी, म्याग्दी जेसिजले जिल्लाका लोकप्रिय गायक खड्क गर्वुजाको पानीखायो बाघैले बोलको सालैजो गीतको समेत नयाँ म्युजिक भिडियो तयार गरेको छ । दुवै गीत र म्युजिक भिडियो पुनर्निर्माणमा करिब नौ लाख ५० हजार  रुपियाँ खर्च भएको म्याग्दी जेसिजले जनाएको छ ।  सालैजो गीतको बेनी नगरपालिका–१ अर्जममा छायाङ्कन गरिएको छ ।

शेखर पुन र मिलन थापा मगरले अभिनय गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन सन्तोष पिठाकोटे मगरले गर्नुभएको छ  । म्याग्दीका कलाकारले सृजना गरेका गीतसङ्गीतलाई नयाँ पुस्तासँग जोड्ने गरी पुनः रेकर्ड गरेको गीतले जिल्लालाई थप चिनाउन र सर्जकको सम्मानमा सघाउ पुग्ने विश्वास गरिएको गण्डकी प्रदेश सभाका सदस्य जुग्जालीले बताउनुभयो ।

बेनीको बजार गीतलाई भोली आइतबार र पानी खायो बाघैले बोलको गीत असोज ३ गते संविधान दिवसका अवसर पारेर युट्युबबाट सार्वजनिक गरिने म्याग्दी जेसिजका पूर्व अध्यक्ष विनय श्रेष्ठले जानकारी दिनुभयो ।