• ११ मंसिर २०८१, मङ्गलबार

मानव वन्यजन्तु द्वन्द्व रोक्न तारजाली, चार सय घरधुरी लाभान्वित

blog

राप्तीसोनारी २ स्थित जनमुखी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने मानववस्ती र वनक्षेत्र बिचमा लगाइएको तारजाली । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, भदौ २९ गते ।
 मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न तथा वन्यजन्तुबाट स्थानीयका अन्नबाली जोगाउनका लागि गरिएको तारजालीले बाँकेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतका चार सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

तारजालीले बाँके राष्ट्रिय निकुञ्ज नजिकका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका वन क्षेत्रभित्र पर्ने कम्दी जैविक मार्ग अन्तर्गतका मानववस्तीहरुका चार सयभन्दा बढी स्थानीय घरधुरी लाभान्वित भएका हुन् ।

गत आर्थिक वर्ष २०८००८१ मा विभिन्न कार्यक्रममार्फत मानव वन्यजन्तुबिच हुने सम्भावित द्वन्द्व रोक्न तथा वन्यजन्तुबाट किसानका अन्नबालीमा हुने क्षतिबाट जोगाउन गरिएको तारजालीबाट बाँके राष्ट्रिय निकुञ्ज नजिक रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका वन क्षेत्रभित्र पर्ने कम्दी जैविक मार्गअन्तर्गतका मानववस्तीहरुका चार सयभन्दा बढी स्थानीय घरधुरी लाभान्वित भएको शमशेरगन्ज सब डिभिजन वन कार्यलयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।

मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न तथा अन्नबाली जोगाउनका लागि गत आर्थिक वर्षमा बाँके राष्ट्रिय निकुञ्ज नजिक रहेका कम्दी जैविक मार्गअन्तर्गत पर्ने विभिन्न तीनवटा सामुदायिक वनका वनक्षेत्र र नजिकको बस्तीबिच मेष तारजाली जडान गरिएको वरिष्ठ वन अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटा सामुदायिक वनका वनक्षेत्र र बस्तीबिच तीन हजार ८५० मिटर लम्बाइ रहेको मेष तारजाली जडान गरिएको हो । जसबाट ४६७ स्थानीय घरधुरी प्रत्यक्ष लाभान्वित भएको उहाँले बताउनुभयो ।

मानव वन्यजन्तु बिचको असमझदारी न्यूनीकरणका लागि हरित बार सहितको मेष जाली जडान कार्यक्रमअन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहमा एकीकृत भू–परिधि व्यवस्थापन आयोजना (इलम) सँगको समन्वयमा १५ सय मिटर लामो मेष तारजाली जडान गरिएको छ । १८ लाख ७८ हजार ३४० रुपियाँ इलम र ६ लाख ७० हजार २८९ रुपियाँ समूहको गरी कुल २५ लाख ४८ हजार ६२९ रुपियाँको लागतमा उक्त तारजाली निर्माण गरिएको सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी राप्तीसोनारी २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहमा पनि इलमको सहकार्यमा तारजाली जडान गरिएको छ । अशोकमा १५ सय मीटर लामो मेष जाली जडान गरिएको छ । जसबाट १३२ स्थानीय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । इलमको १२ लाख २० हजार ९७६ रुपियाँ र समुहको नौ लाख ५९ हजार ३३७ गरी कुल २१ लाख ८० हजार ३१३ रुपियाँको लागतमा उक्त तारजाली निर्माण भएको वन अधिकृत सुवेदीको भनाइ छ ।


राप्तीसोनारी २ कै माथेवासस्थित जनमुखी सामुदायिक वन उपभोक्ता समूहमा भने डिभिजन वन कार्यालयसँगको समन्वयमा तारजाली जडान गरिएको हो । जनमुखीमा ८५० मिटर लामो मेष तारजाली जडान गरिएको छ भने एक सय स्थानीय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । डिभिजन वन कार्यालयको १० लाख ४३ हजार १२० रुपियाँ र समूहको एक लाख चार हजार ३१२ रुपियाँ गरी कुल ११ लाख ४७ हजार ४३२ रुपियाँमा उक्त तारजाली निर्माण भएको सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार तारजाली जडानसँगसँगै वातावरणलाई हरित बनाउनुका साथै सामुदायिक वनको आम्दानीसमेत हुने भएका कारण तारजालीको नजिक नजिक कागतीका बिरुवासमेत लगाइएको छ । जनकल्याण सामुदायिक वनमा दुई सय र अशोक सामुदायिक वनमा तीन सय कागतीको बिरुवाहरू रोपिएको छ । कागतीलाई वन्यजन्तुले पनि क्षति नगर्ने भएका कारण पनि कागती रोपिएको उहाँको भनाइ छ ।

अशोक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भगानुसिंह थारुले तारजाली निर्माण भइसकेपछि स्थानीय पनि सुरक्षित भएको र अन्नबालीसमेत ढुक्कसँग भित्र्याउन पाएको बताउनुभयो । तारजाली हुनुभन्दा पहिले बाघ, बँदेल, स्याल तथा बनविरालो लगायतका जनावर बस्तीमा छिरेर पशुचौपाया मारिदिने, घाइते बनाइदिने तथा लगाएको अन्नबाली पनि नोक्सानी गर्दै आएको र अहिले यस्ता सबै समस्याबाट मुक्त भएको उहाँले बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्ज नजिक रहेका सामुदायिक वन क्षेत्रभित्र रहेका मानववस्तीहरुमा समयसमयमा वन्यजन्तु पसेर घरपालुवा चौपाया माथि आक्रमण गर्ने, घाइते बनाइदिने तथा मारिदिने, अन्नबाली क्षति गरिदिने गर्दै आएका थिए भने वन्यजन्तुबाट स्थानीयसमेत सुरक्षित हुन सकेका थिएनन् । गत वर्ष अशोक सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने मानववस्तीमा पाटेबाघ पसेर १२ वटा गाइगोरु तथा ६ वटा भेडाबाख्रा मारिदिएको थियो भने आफैँ पनि मृत अवस्थामा भेटिएको थियो । हाल उक्त क्षेत्रको मानववस्तीमा तारजाली गरिएको छ । तारजाली निर्माणले बस्तीभित्र वन्यजन्तु भित्रिँदा वन्यजन्तु पनि असुरक्षित हुने र स्थानीय पनि असुरक्षित हुने तथा द्वन्द्वसमेत हुने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।