• २९ भदौ २०८१, शनिबार

चक्रपथ विस्तार अलपत्र, सास्ती खेप्दै स्थानीय (फोटो फिचर)

blog

काठमाडौँ, भदौ २९ गते । चक्रपथअन्तर्गत कलङ्की-वसुन्धरासम्मको सडक विस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भए पनि सडक विस्तारको काम सुरु हुन सकेको थिएन । 

यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरुबिच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया सुरु भएको छ । ८.२ किलोमिटरको दोस्रो खण्ड विस्तारको काम २०७५ सालमै सुरु हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन । २०६९ सालमा कोटेश्वर कलङ्की पहिलो खण्डको काम सुरु भई २०७५ सालमा सकिएको थियो । 

पहिलो विस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक विस्तार सुरु हुनुपर्ने थियो । थर विभिन्न कारणवश अहिलेसम्म पनि सुरु हुन सकेको थिएन । जबकि चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जिटुजी सम्झौता भएको थियो । चीन सरकारले पूर्व तयारीका काम नटुङ्ग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबिच कोरोना महामारी लगायतका कारण काम अघि बढेको थिएन । पूर्वतयारी स्वरूप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबिच सहमति बन्न नसक्दा आम नागरिकले भने दुःख र सास्ती व्यहोर्नुपर्यो । र अहिले पनि जारी छ । सडक बिस्तारको रूपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरू अहिले पनि प्रशस्त देखिन्छन् । 

बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरूप पनि देखिन्छ । जस कारण सो क्षेत्रको व्यापार व्यवसाय मात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरूको छ । यसबिचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरूले सडक विस्तारको कामलाई तीव्रता दिन आन्दोलनसमेत गरेका थिए ।