• २९ भदौ २०८१, शनिबार

बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की

blog

विराटनगर,  भदौ २९ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ । 

आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारीसमेत भएको उल्लेख गर्नुभयो । उहाँले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गराएर मात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उल्लेख गर्नुभयो । 

“नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेट्दै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको छ”, उहाँले भन्नुभयो । 

मुख्यमन्त्री कार्कीले अझै पनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाटसमेत वञ्चित हुनुपरेको अवस्था रहेको चर्चा गर्दै उक्त समस्या समाधान गर्न सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो ।  

आज ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ बाल दिवस २०८१ मनाइँदै छ ।