• २९ भदौ २०८१, शनिबार

हुम्लाको विकास कर्णाली कोरिडोर

blog

देशको अन्य क्षेत्रभन्दा कर्णाली प्रदेश विकासमा पछि रहेको छ तर सुर्खेत–जुम्ला मोटरबाटो, जाजरकोट–दुनै डोल्पा मोटरबाटो र हालै मात्र जितेगाढ–हिल्सा (कर्णाली कोरिडोर) मोटरबाटो सञ्चालनमा आए उप्रान्त यो प्रदेश विकासमा पछाडि पर्ने स्थितिमा छैन । मोटरबाटो जुनसुकै मुलुकको विकासमा पहिलो माध्यम हो । नेपालका ७७ जिल्लामध्ये सङ्घीय राजधानी काठमाडौँसँग सडक सञ्जालमा सबैभन्दा पछाडि (खार्पुनाथ पुलबाहेक) हुम्लाको सदरमुकाम सिमकोट जोडिएको छ । हुम्लाको उत्तरी सीमा (हिल्सा र लाप्चा) नाकासम्म सिमकोट सदरमुकामबाट यातायात सुविधा प्रारम्भ भएकोले हुम्लावासीको हातमा अब यहाँको विकास निर्भर रहेको छ । हुम्लाका सात वटा गाउँपालिका, केही वडाबाहेक प्रत्येक पालिकामा सडक सञ्जाल जोडिएका छन् ।

हुम्लाको सदरमुकाम हवाई यातायात सञ्जालले मात्र जोडेको थियो तर अब नेपालगन्ज–सुर्खेत–जितेगाढ–कालीकोट र कवाडी बाजुरा हुँदै सिमकोट भएर हिल्सा सडक सञ्जाल हुँदा चीन र भारतसँग आर्थिक, सामाजिक कारोबार र पर्यटन तथा व्यापार विस्तार गर्ने अवसर प्राप्त भएका छन् । जसरी नेपालका दक्षिणी सीमानाकाहरू सहज र सुगम तरिकाबाट आवत्जावत् र बन्दव्यापार सञ्चालनमा छन्, त्यसै गरी उत्तरी सीमासँगका चार वटा नाका च्वाङ्खोला (सिमकोट गाउँपालिका), टाँके (चङ्खेली गाउँपालिका), लाप्चा लिमि एवं हिल्सा (नाम्खा गाउँपालिका) मध्ये पछिल्ला दुई नाका हिल्सा र लाप्चा निर्वाध सञ्चालनमा आए भने कर्णाली प्रदेश र हुम्लाको विकासमा कायापलट हुने निश्चित छ । यो कार्य सम्पादनमा आवश्यक वातावरण मिलाउने कार्य र दायित्व नेपाल सरकार र मित्र राष्ट्रको रहेको छ । 

हुम्ला आन्तरिक रूपमा दुई सभ्यता–जडान (जाडो हिमाली हावापानी र भोट बाहुल्य) संस्कृति र खसान (ब्राह्मण क्षेत्रीको खस राज्य कम चिसो पहाडी हावापानी) तथा गुम्बाइजम र नाथइजम जीवनशैलीबाट सञ्चालित छ । यहाँको प्रकृति र संस्कृतिबिच सौहार्दपूर्ण संयोजन छ । प्राकृतिले पाँच महिना कठोर रूपमा हलचल (क्रियाकलाप) प्रायः बन्द गराउँछ । कात्तिक महिनाको दोस्रो हप्तादेखि चैत अन्ततिरसम्म मानिस र पशुपन्छीका गतिविधि बन्द हुन्छन् । प्रकृतिको कठोर व्यवहारविरुद्व प्राणीको सात महिने जीवनचर्या खर्कदेखि खेतबारीमा सञ्चालन हुन थाल्दछ । गुजारामुखी खेतीपाती– उवा, जौ, गहुँ, फापर, आलु, जुनो, काउनु, चिनो, सिमी, मकै, कोदो, मार्सी धान उत्पादन गर्छन् । नगद आम्दानीको आधार पशुपालन र जडीबुटी ( गुच्ची च्याउ आदि) हो । पशुपालनमा भेडा, च्याङ्ग्रा, बाख्रा, गाई, भैँसी, चौँरी/झोपा, घोडा/खच्चर (मासुजन्य तथा यातायातका संसाधन) रहेका छन् ।  

कर्णाली कोरिडोरको प्रभावले विगतको आर्थिक संरचनामा व्यापक रूपान्तरण आउने गतिविधि देखा पर्न थालेका छन् । यसअघि जडान क्षेत्रमा बहुपति प्रथा थियो । अर्ध फिरन्ते पशुपालन पेसा थियो । विनिमयमा आधारित आर्थिक प्रणाली थियो । तीन/चार दशकअघिबाट सामुदायिक वनको व्यवस्थापनका कारण पाठा (बाख्रा, भेडा, च्याङ्ग्रा) पालनको सङ्ख्या झन्डै ५० प्रतिशत कम हुन आएको छ । यातायात र भूमण्डलीय प्रभावले मानिसको बसाइँ सर्ने (आन्तरिक एवं बाह्य मुलुक) क्रम तीव्र गतिमा बढेको छ । सरसामान ओसारप्रसार गर्ने यातायातको साधन– घोडा, खच्चर, गधा, चौँरी, झुपाको प्रयोग झन्डै ३० प्रतिशतमा घटेको छ । आगामी दिनमा स्थानीय रैथाने खेतीपातीमा पनि परिवर्तन हुने र खेतबारी बाँजो रहने हो कि भन्ने डर देखापर्न थालेको छ । बाहिरबाट आयतित खाद्य पदार्थ (जङ्क फुड) ले रैथाने खानपानलाई प्रत्यक्ष असर पार्न थालेको देखिन्छ । यो परिवर्तनलाई सकारात्मक वा नकरात्मक जुनसुकै तरिकाले हेर्न सकिन्छ तर दिगो विकास र स्थानीय बहुमूल्य मौलिकतालाई संरक्षण र संवर्धन गर्नुपर्ने वा महत्व बुझ्नु आवश्यक छ । यी गतिविधि र सडक सञ्जालको उपस्थितिले हुम्ला तथा कर्णाली क्षेत्रमा मात्रै होइन, नेपालभर नै खास गरी हिमाली भेगमा बढी प्रभाव पारिरहेको प्रत्यक्ष अनुभव गर्न सकिन्छ । 

हुम्लाको छिमेकी जिल्ला र चीनको पुरन काउन्टी विशेष गरी कैलाश मानसरोवार क्षेत्रको पर्यटन गतिविधिबाट यो क्षेत्र प्रभावित छ । जडान क्षेत्रका बासिन्दा आय आर्जनका लागि बढी हलचल गर्न थालेको देखिन्छ । जस्तैः लिमी उपत्यकाका तीन गाउँमध्ये झाङका ५०/६० घरधुरीबाट चार/पाँच घरधुरी मात्र, तिल गाउँका झन्डै ४० घरधुरीमध्ये तीन/चार मात्र बाँकी छन् भने हाल्जी गाउँका ९०/९२ घरधुरीबाट झन्डै आधा घरधनी गएको पाँच वर्षभित्र तिब्बतको ताकलाकोट र अन्य बस्तीतिर रोजगारीका लागि बसाइँ सरेका छन् । तिब्बततिर भन्दा पनि समुद्रपार मुलुकतर्फ पुगेको अनुमान पनि छ । जनचेतना, शिक्षा र रोजगारीको खोजीले मानिसहरू आधुनिक सुविधाको पहुँचमा बसाइँ सर्नु अस्वाभाविक होइन । छिमेकी मुलुकको विकासको गतिको तुलनामा नेपालभित्र विकासका गतिविधिले सकारात्मक दिशा र गति लिन सकेन भने कर्णालीका मान्ठा पायक र सुविधा भोगी स्थानतिर पलायन हुनुलाई नौलो नमाने हुन्छ । अझ कर्णाली कोरिडोरको सुविधाले भारतसँग रोजगारी र अन्य व्यवसायका गतिविधि बढ्दै गए भने कर्णालीका पाखापखेरा बाँझो हुन पुग्ने छन् । त्यसै कारण कर्णालीको समृद्धि र हितका लागि नेपाल सरकार, विकास साझेदारहरू, योजनाकार र स्थानीयबासीले आधुनिक सरसुविधा विज्ञान र प्रविधि, सूचना प्रविधि र जलवायु परिवर्तन, भूमण्डलीय बहावलाई आत्मसात् गर्दै अगाडि बढ्नुको विकल्प छैन । भूमण्डलीय मौसम परिवर्तन र सडक सञ्जालले कर्णालीमा ठुलै परिवर्तन ल्याउनेवाला छ ।

हुम्लाको विकासमा मोटरबाटोले प्रोत्साहन गर्ने धेरै क्षेत्र (आयाम) मध्ये पर्यटन, पशुपालन र फलफूल उत्पादनलाई प्राथमिकतामा राख्न सकिन्छ । परम्परागत रूपमा आयस्रोतको माध्यममा रहेको भेडा, च्याङ्ग्रा, बाख्रा, चौँरीपालन र गुजारामुखी कृषि पर्छन् । त्यसमा रूपान्तरणको आवश्यकता छ । त्यसै गरी निष्क्रिय रूपमा रहेको स्याउ, गुच्ची च्याउ, ओखर, खुर्पानी, नास्पातीलगायतका फलफूल खेतीलाई बाटोको सहजताले बजार पाउँछ । अनि किसानले उचित मूल्य पाउँछन् । पाँच महिनासम्म निर्बाध रूपमा खर्क राख्न सकिने चरिचरनका उपत्यका हाल वन, चौँरी, वनघोडा र नाहुरका बथानले उच्च हिमाली वन्यजन्तु संरक्षित निकुञ्ज सरह छन् । तुब्लिङ, लाप्चा, सल्लीखोला, लेकडिङ्गा, घट्टेखोला, सेजिको चौर, नवाथाङ, सिउसा, सेलीमान, यारीलगायत थुप्रै क्षेत्रलाई व्यावसायिक पशुपालनका लागि किसानलाई प्रोत्साहन गर्न आवश्यक संरचना निर्माण गरी प्राविधिक सहयोग बढाउन सकिन्छ । बहुमूल्य जडीबुटीहरू यर्चा, पदमचाल, चिराइतो, जिम्मु, जटामसी, पाखनवेद, गुच्ची च्याउलगायत अन्य वनपैदावर सङ्कलन गर्न प्रोत्साहन र प्रशोधन गर्ने कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

उच्च हिमाली भेकमा उत्पादित मार्सी धान, चिनो, राज्मा/सिमी, आलु, कागुनो, फापर, गहुँ, उवा, फर्सी, कोदो, मकैको उत्पादन बढाउने र ती उत्पादनमा आधुनिक प्रविधि र सिप लगाएर परिकारहरू विभेदीकरण गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सकिन्छ । उच्च भूभाग (हावापानी र माटो सुहाउँदो) मा लगाइने नगदेबाली, फलफूल बाहिरी मुलुकबाट आयात गरी नयाँ उत्पादन सुरु गर्नुका साथै स्थानीय सरकारले उत्पादनलाई बजारीकरणको बन्दोबस्त मिलाउनु पर्छ । बाहिरबाट हुम्ला वा कर्णाली भ्रमणमा आउने पाहुनालाई महँगो मूल्यको गुच्ची च्याउको सुप, कर्णाली राज्माको बिउ बनाउने, चम्पालाई नयाँ परिकार– केक, फापरको ढेसु/लक्कर, स्टिम मम र फर्सीको सुपलाई जिम्मु वा भोटे लसुनले झानेर किन नखुवाउने ? यी स्थानीय उत्पादनलाई प्रविधि र सिप लगाएर आधुनिक परिकार जस्तै केक, पाई, बिस्कुट, पाउरोटी, पोरिज, जामजेली, जुस, सुप आदि पनि बनाउन सकिन्छ र कर्णाली ब्रान्डमा पस्कन सकिन्छ । यस्ता प्रविधि र सिप सिकाउनु आवश्यक छ । मासुजन्य उत्पादनमा पनि प्रविधि लगाएर बाहिर निर्यात गर्न सकिन्छ । चीनले कुखुराको नङ्ग्रा खुट्टालाई चिकन लेग पिस भनेर निर्यात गरे झैँ । मोटरबाटोको सुलभता भएपछि वैकल्पिक ऊर्जा उत्पादन, माइक्रोहाइड्रो र मिनीहाइड्रो पनि उत्पादन गर्न सकिन्छ । स्थानीय उत्पादनलाई शीत भण्डारण गरी देशका अन्य भागमा पनि पठाउन सकिन्छ । सिप, प्रविधि र उत्पादन बढाउन र बजारीकरण गर्न मात्र सक्नु पर्‍यो ।

कर्णाली र हुम्लालाई समृद्वि उन्मुख लैजान विकासका धेरै आयामको रूपान्तरण गर्नु आवश्यक छ । आमजनमानसमा चेतना र सोचमा परिवर्तन, जनप्रतिनिधिदेखि टाठाबाठा भनाउँदामा आधुनिकताको महत्व, स्थानीय स्रोतसाधन पहिचान र प्रयोग विधिमा रूपान्तरण, वर्तमान खानपान र जीवनशैलीमा स्थानीय उत्पादनको महत्व बोध गराउनु पर्छ । प्रविधिमैत्री धरोहर र सम्पदाको महत्व बढाउनु पर्छ । उत्पादकत्व नहुने, दिगो नहुने प्रचलन, अन्धविश्वास, धामीझाँक्री, कुरीति, अशिक्षा, गरिबी, पछोटेपन लगायतमा आमूल परिवर्तन हुनु पर्छ । शङ्कामा रहेका व्यावहारिक कुरालाई पारदर्शी तरिकाले नङ्ग्याएर प्याजको डल्लोभित्र बिउ छैन भन्ने साबित गर्नु पर्छ । 

कर्णाली र हुम्लाको विकासका लागि स्थानीय स्रोतसाधन पर्याप्त छन् । कस्तुरीको नाभीमा बास्ना छ, अन्त भौँतारिएर बास्नाको खोजी गर्नु पर्दैन भने झैँ वर्षको बाह्रै महिना खेतीपाती र पशुपालन गरी राख्नु पर्दैन । पाँच/छ महिनाको कमाइले पनि बाह्रैमास खानलाउन र जाडोयाममा कर्णाली बाहिर घुमफिर गर्नका लागि खर्च जुटाउन सकिन्छ । पाखापखेरामा खोर्सेर फालेका बिउबीजनले बिना गोडमेल, मलखादरहित प्रशस्त रैथाने परिकार बन्छ । घाँस र दाना खुवाउन नपरी खर्क र चौरमा छाडेका चौपायको पशुजन्य उत्पादनले वर्षैभरि खानलाउन पुग्नका साथै विदेश घुम्न पुग्ने आम्दानी त्यहाँका किसानले गर्न सक्छन् । उत्तरतर्फको विशाल चिनियाँ बजार र आन्तरिक खपतका साथै दक्षिणको अर्को विशाल भारतीय बजारले हाम्रो गुणस्तरीय उत्पादनका लागि बजारको अभाव हुने छैन । शिक्षा, अनुभव, व्यावसायिक चिन्तन र सोच, प्रविधि, बेरोजगार भएर बिदेसिन बाध्य जनशक्तिको व्यवस्थापनको अभाव, राजनीतिक एवं सरकारको अस्थिरता हाम्रा मुख्य समस्या हुन् । यिनको वैज्ञानिक, दिगो समाधान, स्पष्ट विकासको खाकाको सोच भएको नेतृत्व, स्रोतसाधनको व्यवस्थित प्रभावकारी प्रयोग, स्थानीय स्रोतसाधनलाई आधुनिक प्रविधिमैत्री र आमजनचेतनामा परिवर्तन गर्न आवश्यक छ । 

यी माथिका समस्या/सवाल र उठानका विषयवस्तुले एक/दुई दशकमा सम्बोधन पाउने छ र कर्णालीको रूपान्तरणको सूत्राधार कर्णालीवासी नै हुनेछन् । सरकारले व्यावहारिक, प्रभावकारी, सम्भाव्यतामुखी योजनाको तय गर्नुपर्ने छ र अन्धकार, पछाडिएको कर्णालीमा राप र तापको सूर्योदय हुने छ ।  

Author

प्राडा प्रेम शर्मा