• १० मंसिर २०८१, सोमबार

उत्पादन वृद्धि नगरेसम्म आपूर्ति व्यवस्थापन असम्भव

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २९ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशमा उत्पादन वृद्धि नभएसम्म आपूर्ति व्यवस्थापन गर्न नसकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “देशमा उत्पादन नै छैन भने आपूर्ति व्यवस्थापन सम्भव छैन, त्यसैले पहिले उत्पादन वृद्धिमा सबैको ध्यान जानु पर्छ ।” 

राष्ट्रिय उपभोक्ता मञ्चले आफ्नो १९ औँ वाषिकोत्सवको अवसरमा शुक्रबार गरेको कार्यक्रममा मन्त्री अधिकारीले देशमा उपभोग्य वस्तुको मागको ८० प्रतिशत बाह्य आपूर्तिमा भर पर्नुपर्ने अवस्थाको देशमा आपूर्ति व्यवस्थापन र बजार भाउ नियन्त्रण सम्भव नहुने बताउनुभयो । 

देशमा उत्पादन वृद्धि गर्न सकियो भने आपूर्ति व्यवस्थापनमा कुनै समस्या नहुने भन्दै मन्त्री अधिकारीले भन्नुभयो, “उत्पादन वृद्धिका लागि अब देशव्यापी रूपमा अभियान चलाउनु पर्छ । यसका लागि सरकार एक्लैबाट सम्भव छैन, सरोकारवाला पक्ष, युवा, सचेत नागरिक, राजीतिक दल मिलेर सँगसँगै काम गर्नु पर्छ असम्भव भन्ने छैन ।” कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कुनै पनि वस्तुको मागबारे स्पष्ट नभएसम्म आपूर्ति व्यवस्थापन र मूल्य नियन्त्रण सम्भव नभएको बताउनुभयो । उहाँले बजारमा कुन वस्तुको माग कति छ भन्ने तथ्याङ्क छैन, के आधारमा आपूर्ति व्यवस्थापन गरेर बजार भाउ नियन्त्रण गर्न सकिन्छ भनी प्रश्न गर्नुभयो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले चाडपर्व नजिकिएसँगै बजारमा बेथिति निम्ति सक्ने विषयप्रति सचेत रहेर विभागले बजारमा आपूर्तिलाई व्यवस्थापनका लागि नियमित अनुगमनलाई तीव्रता दिएको बताउनुभयो । यस पटकको बजार अनुगमन स्रोत र उद्योगलक्षित भएकाले परिणाम आउने विश्वास उहाँको थियो । 

महानिर्देशक पौडेलले चाडपर्वका बेलामा बजारमा हुन सक्ने कालो बजारी, गुणस्तरहीन वस्तुको बिक्री र मिसावटको नियन्त्रण गर्नका लागि विभागले ८/१० वटा टोली बनाएर संयुक्त रूपमा बजार अनुगमन गरिरहेको पनि जानकारी दिनुभयो ।