• २९ भदौ २०८१, शनिबार

सहकारी ठगी प्रकरण : फरार अभियुक्त फर्काउन ढिलाइ

blog

काठमाडौँ, भदौ २९ गते ।  सहकारी क्षेत्रमा देखिएको आर्थिक अपचलन तथा बचत रकम दुरुपयोग र अनियमितताको प्रताडना झन् विकराल हुँदै गएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई गृह प्रशासनबाटै सहयोग नहुँदा सहकारीको बचत रकम अपचलनबाट पीडित नागरिकलाई अझ बढी आहत हुने देखिएको हो । 

समितिले सहकारीको रकम अपचलन गर्ने अभियुक्तलाई बयानको दायरामा ल्याउने प्रयास गरिरहँदा गृह मन्त्रालयले सहकारीको रकम दुरुपयोग गरेर विदेश भागेका अभियुक्त ल्याउन सकेको छैन । सङ्घीय सरकार अन्तर्गत दर्ता भएका २२ वटा सहकारीको मात्रै ३६ अर्ब २८ करोड ९६ लाख ८१ हजार ७८० रुपियाँ अपचलन हुँदा ६२ हजार १८१ बचतकर्ता पीडित छन् । 

सहकारी ठगी गरी अर्बौं घोटाला गरेर ‘फरार व्यक्तिको खोजबिनका निम्ति महत्वपूर्ण कोसिस भएको’ बताउने गृह प्रशासनले यस्ता २८ अभियुक्तमध्ये एक जनालाई पनि स्वदेश फर्काएर कानुनी दायरा र बयानमा हाजिर गराउन नसकेको समितिले जनाएको छ ।  

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराईसहित छलफलमा फरार अभियुक्तलाई विदेशबाट ल्याउन ‘महत्वपूर्ण प्रयास’ भएको जानकारी आएको छ । 

गृहमन्त्री लेखकले समितिको निर्देशन  अनुसार सहकारी रकम अपचलनमा संलग्न व्यक्तिलाई विदेशबाट नेपाल ल्याउन पहल भएको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले पनि समितिको निर्देशन अनुसार सहकारी ठगीमा संलग्न अभियुक्तलाई स्वदेश फर्काएर अनुसन्धान गर्ने पहल गरिएको प्रस्ट पार्नुभयो । 

सभापति थापाका अनुसार समितिले गृहमन्त्री लेखकसँग साउन १३ गतेको बैठकमा सहकारी ठगीमा संलग्न भई विदेश भागेका २२ र भदौ १९ गतेको बैठकमा थप तीन गरी २५ जना फरार रहेका व्यक्तिको सन्दर्भमा खोजबिन गरेर छानबिनको प्रक्रियामा समावेश गराउने गरी पत्राचार गरेको थियो । उहाँले शुक्रबारको बैठकमै गृह प्रशासन र प्रहरी नेतृत्वसँग त्यस सन्दर्भमा भएको प्रगतिबारे जानकारी लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरूले समितिको निर्देशन अनुसार फरार व्यक्तिको खोजबिनका निम्ति महत्वपूर्ण कोसिस भएको । यसबिचमा मलेसियामा प्रहरी अधिकृत पठाइएको तर पक्राउ गर्ने र ल्याउने कार्यमा उपलब्धि हासिल नभएको र सरकार निरन्तर कोसिसमा रहेको जानकारी गराउनुभएको छ । प्रहरीले कोसिस गरेको गृहमन्त्री र प्रहरी महानिरीक्षकले जानकारी दिनुभयो ।”

थपिए फरार अभियुक्त 

गृह मन्त्रालय र नेपाल प्रहरीले देशभित्र रहेका सहकारीको आर्थिक अपचलनमा संलग्न व्यक्तिबारे जानकारी दिने र बयानमा उपस्थित गराउन सहयोग गरेको छ । सभापति थापाले भन्नुभयो, “देशभरि पुर्पक्षका लागि हिरासतमा रहेका कैदीबन्दी, थुनुवालाई समितिमा उपलब्ध गराउन अनुरोध गरेका थियौँ । त्यो काममा सम्पूर्ण रूपमा प्रहरी र गृह मन्त्रालयले सहजीकरण गरेकै हो तर विदेशमा रहेका सहकारीको रकम अपचलनकर्ता ल्याउने प्रयास चाहिँ असफल भएको छ ।”

सहकारी विशेष समितिले शुक्रबार गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक कुँवरलाई थप तीन जना फरार अभियुक्तको नामावली बुझाएको छ । उहाँका अनुसार सानो पाइला सहकारी वीरगन्जका राधेचन्द्र यादव, सूर्यदर्शन सहकारी पोखराका लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन बचत तथा ऋण सहकारी संस्थाका सचिव दीपक थापा हाल भारत, अमेरिका र बेलायतमा फरार रहेको जानकारी दिइएको छ । उहाँले भन्नुभयो, “थप जानकारीका आधारमा २५ जनामा थप तीनको नामावली थपेर पत्राचार गरेका छौँ । उहाँहरूलाई थप कोसिस जारी राख्न निर्देशन दिएका छौँ ।”

‘राज’ गरेकै सहकारी खण्डहर

१० वर्षअघिसम्म सुनाम र प्रसिद्धि कमाएका सहकारीका आलिसान कार्यालय अहिले खण्डहर जस्तै बनेका छन् । समितिले तीन सहकारी निकायसहित १३ वटा सहकारीमा निरीक्षण गर्दा सहकारीको दुरावस्था छलङ्ङ भएको हो । सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारी विभाग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय र सहकारी प्रशिक्षण केन्द्रको अनुगमन गरिएको छ । 

त्यसै गरी समितिले गुण कोअपरेटिभको पुल्चोक शाखा, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसमेत मुछिएको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग छलफलका साथै सुमेरु सहकारी पुल्चोकमा समितिले निरीक्षण गरेको छ । 

उहाँले विशेष समिति प्रतिवेदनको काममा जुटेको बताउनुभयो । उहाँले प्रतिवेदन लेखनको कामबारे अन्तिम रूप दिने विषयमा आन्तरिक छलफल गरेको र अहिलेसम्मका सम्पूर्ण विषयलाई समेटेर प्रतिवेदन लेखनलाई अन्तिम रूप दिने उद्देश्यका साथ परामर्श गरेको बताउनुभयो ।