• २४ पुस २०८१, बुधबार

जुनार खेतीमा सुडे पुतलीकाे प्रकोप

blog

सिन्धुलीको गोलन्जोर गाँउपालिका–४ मा रातीको समयमा एक किसानको जुनार बगैचामा सुडे पुतली जुनारको रस चुस्दै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

गोलन्जोर(सिन्धुली), भदौ २८ गते । गोलन्जोर गाँउपालिका–४ माझकुभिण्डे निवासी केदारराक्से ठकुलीलाई जुनारको बगैँचामा फल बढ्दै जाँदा चिन्ता पनि उत्तिकै थपिँदै गएको छ । जुनारमा सुडे पुतलीको प्रकोप बढेसँगै उहाँलाई चिन्ता पनि थपिएको हो ।

यतिखेर उहाँको साँढे नौ रोपनी जमिनमा गरिएको व्यवसायिक जुनार खेतीमा लटरम्म फल लागेको छ । सुडे पुतली रातीको समयमा फलमा बसेर रस चुस्ने र फल कुहाउने समस्या देखिएको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘बर्सेनि जुनार खेतीबाट १० लाख रुपिया भन्दा बढी लिँदै आएको थिए। तर यस वर्ष सुडे पुतलीको प्रकोपले धेरै क्षेती सहनु पर्ला जस्तो छ ।’

जुनारमा गुलियो रस भरिँदै जाँदा सुडे पुतलीले जुनारनै सखाप पार्न थालेको किसानको गुनासो छ । उनीहरुका अनुसार सुडे पुतली नियन्त्रण गर्न अहिलेसम्म कुनै ठोस उपाय छैन। सुडे पुतली मार्न र धपाउन कतिपय किसानको त रातभरि नै जुनार बगैचामा बास हुने गरेको छ । 

खासगरी रातको समयमा सुडे पुतली फलमा आएर बसेर सुड गाडेर रस चुस्ने र चुसेको फल पँहेलो भई झरेर कुहिने भएकोले समस्या देखिएको गोलन्जोर गाँउपालिका–५ निवासी अर्का जुनार किसान निर्मलकुमार रम्तेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘जुनारमा सुडे पुतलीको प्रकोप नियन्त्रण गर्नका लागि गोलन्जोर गाँउपालिकाले सुडे पुतलीको टाउकोको मूल्य तोकेर पुरस्कारको घोषणा गरेको छ ।’

गाँउपालिकाले हालै एक सूचना जारी गरी फल चुस्ने सुँडे पुतली समातेर मार्नेलाई प्रति पुतलि प्रोत्साहन स्वरुप दुई रुपैँया दिने जनाएको उहाँले सुनाउनुभयो । गाउँपालिकाले सुँडे पुतली समातेर सम्बन्धित वडा कार्यालयमा बुझाएमा प्रोत्साहन रकम बापत प्रतिपुतलीको दुई  रुपैयाँ प्रदान गर्ने उल्लेख गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

‘तत्कालका लागि पुतली समात्ने र मार्नेभन्दा अरु उपाय छैन,’ गाँउपालिका अध्यक्ष शंकरराज बरालले भन्नुभयो, ‘त्यसैले गाउँपालिकाले पुतली समातेर मार्नेलाई दुई रुपियाँ नगद प्रोत्साहन स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । सुँडे पुतली समातेर वा मारेर गाउँपालिकाको कुनैपनि वडामा बुझाए प्रति पुतली दुई रुपियाँ दिने निर्णय गरेका हौं ।’

पुतली अँध्यारोमा जुनारको फलमा आउने भएकाले रातको समयमा निगरानी गरी किसान र प्राविधिक भएर पुतली समाउने काममा लागेका जुनार सुपरजोनका प्राविधिक जहानसिं कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जुनारमा सुडे पुतली देखिएपछि किसानसँगै प्राविधिक सहित भएर रातीको समयमा पुतली समाउने गरिएको हो ।

सुडे पुतली न्यूनीकरणका लागि लिसोको पासोमा पार्ने, लाइटको व्यवस्था गर्ने, रातमा समाउने र मार्ने, बोटमा नेट झुलको प्रयोग गर्ने, तथा अन्य अम्बा केरा जस्ता फलफूल देखाएर आकर्षित गरी समाउने अभियान सुरु गरिएको सुपरजोन कार्यालयले जनाएको छ । राती बत्ती बालेपछि पुतली नभाग्ने भएकाले समाउन सकिने प्राविधिकहरूको भनाइ छ। 

सुपर जोनका अनुसार गएको सिजनमा जिल्लामा करिब १० हजार पाँच सय मेट्रिक्टन जुनार जिल्लामा उत्पादन भएको थियो । जिल्लामा एक हजार ५० हेक्टर जमिनमा जुनार खेती हुँदै आएको छ । त्यो मध्ये ७५० हेक्टरमा गरिएको जुनार खेतीले उत्पादन दिने गरेको छ । स्थानीय तहका ७९ वटा वडामध्ये आठ वटा वडामा व्यावसायिक रुपमा जुनार खेती हुदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा, तोश्रामखोला, दुम्जा लगायतका ठाँउ जुनार खेतिका लागि पकेट क्षेत्र रुपमा रहेको छ ।