• १० मंसिर २०८२, बुधबार

करेन्ट लागेर एकको मृत्यु

blog

प्रवीण कुमार शर्मा 

रौतहट, मङ्सिर १० गते । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फतुवा विजयपुर नगरपालिका-६, रामदासी टोल बस्ने रामबहादुर महतोको २२ वर्षीया छोरा गणेश महतोको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

मङ्गलबार राति पौने दस बजेको समयमा आफ्नै घरमा माइकको तार जोड्ने क्रममा महतोलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते महतोलाई स्थानीय नेसनल हस्पिटल प्रा.लि. विजयपुरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि बारा जिल्लाको कोल्बी लैजाने क्रममा बाटोमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।