• १० मंसिर २०८१, सोमबार

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

blog

चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपूर्ण मिडिया नेटवर्कबिच स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्झौता । तस्बिर : चेम्बर अफ कमर्स

काठमाडौँ, भदौ २७ गते । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशीलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअप एण्ड इन्नोभेशन समिति र अन्नपूर्ण मिडिया नेटवर्कबिच काठमाडौँको जमलस्थित चेम्बर भवनमा बिहीबार आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर इन्नेभेशन समितिका सभापति पङ्कज जालान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले हस्ताक्षर गर्नुभयो ।

चेम्बरले युवा उद्यमशीलतासम्बन्धी सञ्जाल विस्तार गर्ने, कानुनी सहायता र लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्बन्धमा सहमति भएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले स्टार्टअप उद्यमशीलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो । युवाहरूलाई स्वदेशमै उद्यमी बनाउन एवम् रोजगारी सिर्जना गर्न चेम्बरले स्टार्टअप एण्ड इन्नोभेशन समिति मार्फत काम गरिरहेको अग्रवालले बताउनुभयो ।

स्टार्टअप एण्ड इन्नोभेशन समितिका सभापति पङ्कज जालानले युवा उद्यमशीलता विकासका लागि अभियान चलाउने र युवाहरूलाई समितिका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।