• १० मंसिर २०८१, सोमबार

दोस्रो ताप्लेजुङ गोल्ड कपको खर्च ७३ लाख

blog

ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्दै आयोजक समितिका पदाधिकारी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २६ गते । दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा खर्च त्रिहत्तर लाख रुपियाँ खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले सार्वजनिक गरेको आयव्यय विवरण अनुसार यस वर्षको प्रतियोगितामा ७३ लाख २० हजार ७४८ रुपियाँ खर्च भएको हो ।

सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा भएको आयव्यय सार्वजनिक गरिएको छ । समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार प्रतियोगितामा भएको खर्चमध्ये १७ लाख ५६ हजार ६१९ रुपियाँ ऋण तिर्न बाँकी छ । केही होटल खर्च, प्रिन्टसम्बन्धी काममा भएको खर्च तिर्न बाँकी रहेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यस वर्ष प्रतियोगितामा आम्दानी भने ५५ लाख ६४ हजार १२९ रुपियाँ भएको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार विभिन्न दाताले ३१ लाख ८७ हजार ५२९ रुपियाँ सहयोग गरेका छन् । यस्तै खेल दर्शकलाई प्रवेश शुल्कबापत टिकट बिक्री गरेर २३ लाख ७६ हजार ६०० रुपियाँ सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी प्रतियोगिताका लागि फुङ्लिङ नगरपालिकाले विनियोजन गरेको पाँच लाख रुपियाँ, जिल्लाका आठवटा गाउँपालिकाबाट एक लाखका दरले आठ लाख रुपियाँ रकम समितिलाई प्राप्त हुन बाँकी छ । स्थानीय तहहरु र अन्य विभिन्न सहयोगी दाता तथा निकायसँग कबोल भएकोसमेत करिब १८ लाख रुपियाँ रकम प्राप्त हुन बाँकी रहेको पनि समितिका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

समितिका अध्यक्ष देवराज गुरुङका अनुसार प्रतियोगिता सञ्चालनमा भएको खर्चमध्ये हाल तिर्न बाँकी रहेको रकम जिल्लाका स्थानीय तह र अन्य निकायसँग कबोल भएको रकम प्राप्त गरी बुझाइनेछ । कबोल भएको सबै रकम प्राप्त भएमा बाँकी अर्थात् ऋण तिरेर केही रकम समितिले बचत गर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।

लाखेजात्रा पर्वको अवसर पारेर लाखेजात्रा सञ्चालन समितिको आयोजनामा गत भदौ ३ देखि १० गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा भारत, सिलिगुढीको एकसहित विभिन्न  आठ टोलीको सहभागिता  छ । आयोजक समितिले यसवर्षको प्रतियोगिता सम्पन्न भएको दुई सातापछि नै आयव्यय सार्वजनिक गरेको हो ।