• १९ पुस २०८१, शुक्रबार

केयर गिभरमा जानेको नाम तत्काल सार्वजनिक नगरिने

blog

काठमाडौँ, भदौ २६ गते ।  इजरायलले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत छनोटमा परेका दुई हजार दुई सयको नाम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल सार्वजनिक नगर्ने सूचनामार्फत जानकारी गराएको छ । इजरायलमा सहायक श्रमिक (केयर गिभर) मा जान आवेदन दिएकाले गोला प्रथामा परेकाको नाम सार्वजनिक गर्न दबाब परेपछि मन्त्रालयले मङ्गलबार सूचनामार्फत सोबारे जानकारी गराएको हो । 

मन्त्रालयले सूचनामा इजरायलको आवेदन दिने आवेदकमध्ये केहीमा कैफियत देखिएकाले उनीहरूको छानबिन नहुँदासम्म नाम सार्वजनिक नगर्ने उल्लेख छ । श्रममन्त्री शरतसिंह भण्डारीले इजरायलमा केयर गिभरमा आवेदन दिनेले नक्कली प्रमाणपत्र पेस गरेको भन्ने समाचार आएपछि त्यसको छानबिनका लागि श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्नुभएको थियो । उक्त समितिले यस विषयमा अध्ययन सुरु गरेकाले अध्ययनको प्रतिवेदन आएपछि मात्रै छनोट भएकाको नाम सार्वजनिक गर्ने श्रम मन्त्रालयले जनाएको छ । 

नेपालस्थित इजरायलको राजदूत खनान गोदरको उपस्थितिमा नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको भदौ १४ गते इजरायलमा सहायक श्रमिक (केयर गिभर) जान आवेदन दिएको गोला प्रथामार्फत दुई हजार दुई सय जना छनोट गरेको थियो । वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार ४६१ जनाको सूचीबाट नेपालका लागि इजरायलका दूतावासले लट्ररीमार्फत दुई हजार दुई सय जना छनोट गरेर नाम सङ्ख्या सार्वजनिक गरेको हो । विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन । 

इजरायलको बिपाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार १९६ महिला (४० प्रतिशत) र एक हजार छ सय पुरुष (६० प्रतिशत) गरी दुई हजार दुई सय जना छनोट भएका छन् । श्रमिक छनोट प्रक्रियालाई पारदर्शी बनाउन गोला प्रथा गरिएको हो । यसरी छानिएकामध्ये पनि उचाइ तथा स्वास्थ्य परीक्षणको मापदण्डमा असफल भए कम्तीमा दुई हजार उत्तीर्ण हुने विश्वास गरिएको छ । गोला प्रथामार्फत छनोट भएकाको नामावली भने आउने साता सार्वजानिक गरिने विभागले जनाएको छ । विभागका अनुसार विभागले दुई महिनाअघि माग गरेको आवेदन अनुसार चार हजार २४ जनाले निवेदन दिएकोमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला  छानिएका छन् । जसमध्ये ३२१ जनाको आवेदन अस्वीकृत भएको थियो । यस्तै कागजात नपुगी आवेदन फिर्ता गरिएको सङ्ख्या २४२ रहेको छ । विभागले सट लिस्टमा रहेका तीन हजार ४६१ नामावली नाम परीक्षणका लागि इजरायल पठाएको थियो । 

 नेपाल र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक श्रमिक पठाउन साउन ११ गतेसम्म भर्ना प्रक्रियाको अन्तिम म्याद रहेको थियो । पछिल्लो समय भारत र बङ्गलादेशबाट श्रमिक लैजाने तयारी गरिरहेका बेला नेपालले तत्काल पठाउने आश्वासन दिएपछि आवेदन माग गरिएको हो ।