• १२ साउन २०८१, शनिबार

भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप

blog

नयाँ दिल्ली, वैशाख २७ गते । भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् ।

खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनु उपयुक्त हुने विज्ञ तथा सरोकारवालाहरूको सुझाव र निष्कर्षका आधारमा भारतमा सरकारले बालबालिकालाई पनि खोप लगाइदिने निर्णय गरेको थियो ।

खोप लगाएका बालबालिकालाई खोप लगाएर सुरक्षित भएको भन्दै संघीय स्वास्थ्य मन्त्री मनसुख मन्डावियाले बधाइ दिनुभएको छ ।  

खोप लगाएका बालबालिकामध्ये एक करोड दुई लाख २७२ जनाले दोस्रो खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, १५ देखि १८ वर्षसम्मका भने पाँच करोड ८७ लाख ७० हजार ४२८ ले कम्तीमा एउटा खोप लगाएका छन् । तीमध्ये चार करोड ३३ लाख आठ हजार ६५१ जनाले दोस्रो खोप लगाएका छन् ।

भारतमा अघिल्लो वर्षको जनवरी १६ देखि देशव्यापी रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु गरिएको थियो ।