• २९ भदौ २०८१, शनिबार

तुइनको त्रास कायमै

blog

काठमाडौँ, भदौ २५ गते । केही दिन अघि, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलामा फेरि बन्यो तुइन ।

यो बर्खामा पहिरोले झोलुङ्गे पुल भत्काएपछि यस क्षेत्रमा तुइन सञ्चालनमा आयो । गोरखापत्रकर्मी चन्द्र पन्दाकद्वारा यही भदौ १९ गते ‘पहिरोले झोलुङ्गे पुल भत्काएपछि घुन्साखोलामा बन्यो तुइन’ शीर्षकको समाचारमा सो कुरा उल्लेख छ ।

तत्काल झोलुङ्गे पुल बन्न सक्ने अवस्था थिएन । स्थानीय र पदयात्रीलाई आउजाउमा समस्या भएपछि ताप्लेजुङको फक्ताङ्लुङमा केही दिनअघि पुनः तुइन बन्यो ।

घुन्सा खोलामा रहेको झोलुङ्गे पुल पहिरोले भत्काएपछि सञ्चालन भएको तुइन

तस्बिर : चन्द्र पन्दाक

तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ असोज २५ गते दुई वर्षभित्र ‘तुइनमुक्त नेपाल’ बनाउने घोषणा गर्‍यो । सरकारले तुइन विस्थापन गर्ने निर्णय गरेको वर्षौ बित्दा पनि देश पूर्णरुपमा तुइनमुक्त हुन सकेको अवस्था भने छैन । 

यता स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक एवम् प्रवक्ता महेशचन्द्र न्यौपाने देशभरका एक सय ४३ मध्ये एक सय ४१ वटा तुइन प्रतिस्थापन भइसकेको दाबी गर्नुहुन्छ । उहाँका अनुसार महाकाली नदीमा भारत सरकारको अनुमति आवश्यक पर्ने तथा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा परेकाले यी दुई ठाउँमा तुइन प्रतिस्थापनको काम हुन सकेन ।

यस्तै, कैलालीको चुरे गाउँपालिका –४ स्थित कालेखोलामा पुल नहुँदा बालबालिका जोखिम मोलेर जगातीस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् । ठूलो पानी पर्ने बित्तिकै त्यहाँका विद्यार्थी विद्यालय जानै सक्दैनन् । खोला तरेर जाँदा विद्यार्थी र शिक्षक निथ्रुक्क भिजेर विद्यालयमा बस्नुपर्ने बाध्यता छ ।

२ पुमा खोलामा फसेको मालवाहक ट्याक्टर

तस्बिरः राजु लामिछाने

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. १ र २ को सिमानामा रहेको पुमा खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । हिउँदमा आवतजावत गर्न भए पनि वर्षायाममा पानीको मात्रा बढ्ने हुँदा यातायातका साधन  अवरुद्ध छन् ।बालबालिका यही खोलाकै डरले नियमित विद्यालय जान पाएका छैनन् । गोरखापत्रकर्मी राजु लामिछानेद्वारा भदौ १३ गते लेखिएको ‘पुल नहुँदा बालबालिका विद्यालय जान पाएनन्’ शीर्षकमा सो कुरा उल्लेख छ ।

आलितालको रङ्गुन खोला तर्दै गरेका विद्यार्थी तथा अभिभावक 

तस्बिर : पुस्कर भण्डारी

डडेलधुराको आलीताल खोलामा पुल नहुँदा स्थानीय खासगरी बालबालिका, वृद्धवृद्धा, बिरामीले ज्यानको बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता छ ।

आलीताल भएर बग्ने र रङ्गुन र परशुराम भएर बग्ने पन्तुरा खोलामा पुल छैन । डडेलधुरा नेपाली कांग्रेसका सभापति एवम् पाँच पटक प्रधानमन्त्री  बनिसक्नुभएका शेरबहादुर देउवाको गृहजिल्ला हो ।

धेरै पर नजाऔं, गत भदौ ९ गते सेती नदी कटानका कारण पोखरा महानगरपालिका – ३२ स्थित सतीघाटमा बाटो भत्कँदा अन्तिम संस्कार गरिने घाटमा पुग्नै समस्या भयो । घाटसम्मको बाटोलाई दुई वर्षयता लगातार रुपमा बजेट विनियोजन गरी ढलान गरिएको भए पनि नदीको कटानका कारण आवतजावत पूर्णरुपमा अवरुद्ध भयो ।

भदौ १८ गते अर्घाखाँचीमा छहरे खोलाले बगाउँदा कपिलवस्तु बाणगङ्गा–२ का २९ वर्षीय उमेश पौडेल र सोही स्थानका वर्ष २४ का किशोर रास्कोटी दुई युवा  बेपत्ता भए । गोरखापत्रकर्मी गणेश खनालद्वारा लिखित ‘झरना खोलाले बगाउँदा दुई बेपत्ता’ शीर्षको समाचारमा यो घटना उल्लेख छ ।

पाल्पाको तिनाउ खोलाले बगाएर बेल्टारीका ५६ वर्षीय मानबहादुर कुमालको ज्यान गयो । गोरखापत्रकर्मी रेखीराम रानाद्वारा भदौ १९ गते ‘तिनाउ खोलाले बगाएर एकको मृत्यु’ शीर्षकमा लेखिएको समाचारमा सो कुरा उल्लेख छ ।

बर्खायाममा विद्यालय, अस्पताल, दैनिकी तथा महत्त्वपूर्ण कामकाजका लागि आवतजावत गर्नै मुस्किल भएपछि आकस्मिक विकल्पका रुपमा फेरि पनि रोजिन्छ तुइन । जोखिमपूर्ण तुइन तर्ने क्रममा कैयौंको ज्यान गइसकेको छ ।

देशमा पूर्णरुपमा तुइन विस्थापित भएको सरकारी आँकडा छ । स्थानीय पूर्वाधार विभागले सङ्घ, प्रदेश र केन्द्र गरी तीन तहको सरकारको सहयोगमा हालसम्म ११ हजार ९७ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

यता, सरकारी तथ्याङ्कले तुइन विस्थापित भएको दाबी गरिरहँदा जोखिमपूर्ण तुइन यात्रा भने ज्युँकात्युँ नै देखिन्छ । 

भिडियो स्रोत : चन्द्रा पन्दाक, (ताप्लेजुङ), हिक्मतबहादुर सि‌ह (डडेलधुरा)
भिडियो सम्पादन : मनोजरत्न शाही

यो पनि पढ्नुहोस

पुल नहुँदा बालबालिका विद्यालय जान पाएनन्

पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।