• २९ भदौ २०८१, शनिबार

पुल नहुँदा बालबालिका विद्यालय जान पाएनन्

blog

पुमा खोलामा फसेको मालवाहक ट्याक्टर । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, भदौ १३ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका १ र २ को सिमानामा रहेको पुमा खोलामा पुल नहुँदा यहाँका सर्वसाधारणले सास्ती पाउँदै आएका छन् । वर्षापछि यहाँका बालबालिकाले खोलाकै डरले नियमित विद्यालय जान पाएका छैनन् । 

हिउँदमा खोला तरेर आवतजावत हुने अवस्था भए तापनि वर्षायाममा पानीको मात्रा बढ्दा आवतजावतमा समस्या हुने गरेको छ । यतिबेला खोलामा रहेको कल्भर्टभन्दा माथीबाट खोला बग्न थालेपछि यातायातका साधनहरु समेत अवरुद्ध हुने गरेका छन् । 

यही खोलाले गर्दा कहिले मान्छे बगाउने, गाडी बगाउने गरेको स्थानीयको भनाइ छ । बाँफिकोट गाउँपालिका –२ निवासी सीता दाहालले हरेक वर्ष पुमा खोलाले दुःख दिने गरेको जानकारी दिनुभयो । "कहिले मान्छे बगाउँछ, कहिले गाडी बगाउँछ," उहाँले भन्नुभयो, "बालबच्चाहरु वर्षापछि स्कुल जान डराउँछन् ।" खोलाले बगाउने डरले छोराछोरी नियमित विद्यालय पठाउन नसकिएको उहाँले जनाउनुभयो ।

बाँफिकोट गाउँपालिका–१ की निर्मला नाथले नानीबाबुहरु स्कुल जाने बाटोमा खोला बढेको तर पुल नभएको जनाउनुहुँदै जोखिमपूर्ण अवस्थामा खोला तर्नुपरेकोले जीउधन नै असुक्षित रहेको उल्लेख गर्नुभयो । बाँफिकोट गाउँपालिका १ का बालकृष्ण गौतमले गत वर्ष एक जना मान्छे बगाएको र यस पटक तीन चार पटक मालबहाक गाडि फसेर क्षति बेहोर्नुपरेको जानकारी दिनुभयो । गौतमले खोलाकै कारण यहाँका सर्वसाधारणहरुले जिल्ला सदरमुकाम खलङ्गा, गाउँपालिकाको केन्द्र, छिनेखेतमा रहेको बजार, रुकुमपूर्वको रुकुमकोट आउजाउमा सास्ती पाएको बताउनुभयो । 

कर्णाली प्रदेश सरकारले भने चालु वर्षमा यस खोलामा पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरेको जनाएको छ । प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीको पहलमा एक करोड ८० लाख रुपियाँ विनियोजन भएको बताइएको छ । 

बाँफिकोट गाउँपालिका १ का वडा अध्यक्ष धनबहादुर खड्काले खोलामा पुल नहुँदा ठुलो समस्या झेल्नुपरेको जनाउनुभयो । खोलाले मान्छे, गाडी, पशुचौपाया बगाउने गरेको उहाँले उल्लेख गर्नुभयो । यस खोलामा पुल नुहँदा वडा नम्बर १ बाट वडा नम्बर २ मा रहेको जनकल्याण माविमा पढ्न जाने र वडा नम्बर २ बाट वडा नम्बर १ मा रहेको जनभावना आविमा पढ्न जाने बालबालिकाहरुलाई समस्या भइरहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । यसै वर्ष टेन्डर भएर पुल निर्माणको प्रक्रियामा जाने आशा रहेको उहाँले बताउनुभयो । 

यस खोलामा पुल बनेमा रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका १ र २ का साथै रुकुमपूर्वको ३ र ४ का स्थानीयलाई आउजाउनमा सहज हुने स्थानीयको विश्वास छ ।