• २ माघ २०८१, बुधबार

अरनिको राजमार्गको संसदीय अनुगमन

blog

अलपत्र अवस्थामा रहेको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड आइतबार अनुगमन गर्दै पूर्वाधार विकास समितिका सदस्य । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता 

बनेपा, भदौ २४ गते  ।  सङ्घीय संसद्को पूर्वाधार विकास समितिले अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकदेखि सिन्धुपाल्चोकको कोदारीसम्म सडक अनुगमन गरेको छ । आइतबार समितिका सदस्य शङ्कर भण्डारीको नेतृत्वमा आएको टोलीले निर्माणाधीन अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक र धुलिखेल–खावा सडकखण्डको अनुगमन गरेको हो ।

सडक अनुगमनपछि पाँचखालको खावामा आयोजित छलफलमा उपस्थित स्थानीयवासीले २२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको गौरी पार्वती निर्माण कम्पनीले म्याद सकिएको पाँच महिना बितिसक्दासमेत बाटो सम्पन्न गर्नुको सट्टा झन् अलपत्र बनाएकाले ठेक्का तोड्नुपर्ने बताएका थिए । कार्यक्रममा उपस्थित स्थानीयले सडकको विषयमा सडक विभाग, निर्माण व्यवसायी र सरकारप्रति आक्रोश पोखेका थिए । 

छलफलमा जिल्ला समन्वय प्रमुख दीपककुमार गौतमले निर्माण व्यवसायीले समयमा नै काम नगर्दा सडक दुर्घटनामा सयौँ नागरिक घाइते, अङ्गभङ्ग हुनुका साथै चार जना नागरिकले ज्यान गुमाएको बताउनुभयो । उहाँले आफूहरूले पटक पटक काम गर्नका लागि सहजीकरण र आग्रह गरे पनि गौरी पार्वती निर्माण कम्पनीले पेटी ठेक्कामा लगाएका कारण समस्या आएको बताउनुभयो । 

समन्वय प्रमुख गौतमले भन्नुभयो, “गौरी पार्वतीले पेटी ठेक्कामा काम गर्न अर्को व्यवसायीलाई जिम्मेवारी दियो । पेटी ठेक्कामा लिनेले माटो र ढुङ्गा हेर्दै जथाभाबी सडक कटिङ गर्नाले तीन वटा सरकारी कार्यालय र चार वटा निजी घर पहिरोको जोखिममा परेका छन् ।” उहाँले सडकको भित्ता ५० मिटर अग्लो काटेर तीन मिटरको पर्खाल लगाउँदा सडकमा पहिरोको जोखिम रहेको बताउँदै धुलिखेल जिपलाइनदेखि खावासम्मको सडकको भित्तामा लगाइने पर्खालको उचाइ बढाउन माग गर्नुभयो । 

समन्वय प्रमुख गौतमले सार्वजनिक खरिद ऐन व्यवसायीको पक्षपोषण गर्ने खालको भएकाले यसको सुधार हुन आवश्यक रहेको बताउनुभयो । 

समितिका सदस्य शङ्कर भण्डारीले अरनिको राजमार्गको निर्माणाधीन धुलिखेल–खावा सडकको कामको विषयमा नागरिकको दुःखकष्ट भोग्नु परेको जनगुनासोका साथै सांसदहरूले संसद्मा समेत यो विषयमा पटक पटक आवाज उठाएकाले समितिले सडकको कामको अनुगमन गरेको बताउनुभयो । उहाँले सडकमा भएका खाल्टाखुल्टी पुर्नुका साथै धुलो उड्न नदिनका लागि पानीको व्यवस्थापन तथा सडक सुचारु गराउनका लागि आवश्यक पर्ने उपकरण तयारी अवस्थामा राख्न डिभिजन सडक र निर्माण व्यवसायीलाई निर्देशन गर्नुभयो । सांसद भण्डारीले भन्नुभयो, “पहिरोका कारण जोखिममा रहेका सरकारी कार्यालय र घर संरक्षणका लागि सात दिनभित्र लगत स्टिमेट तयार गर्नुहोला, तपाईंहरूसँग बजेट छैन भने हामीलाई भन्नुहोस्, हामी सम्बन्धित निकायमा पहल गर्ने छौँ ।”

सांसद माधव सापकोटाले निर्माण कम्पनीले काम नगरेका कारण नागरिकले सास्ती बेहोर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले समितिमा निर्माण व्यवसायीको ठेक्काको मिति सकिनु एक महिनाअघि नै यो निर्माण कम्पनीबाट काम हुन्न ठेक्का तोडौँ, अर्को ठेक्का नलागेसम्म विभागले नै सडक मर्मतको काम गरौँ भन्दा किन ठेक्का नतोडेको ?” 

उहाँले गौरी पार्वती निर्माणले ठेक्का लिएका सबै आयोजना ‘क्रोनिक’ अवस्थामा रहेकाले तत्काल ठेक्का तोडेर नयाँ ठेक्का प्रव्रिmया अगाडि बढाउन सडक विभागलाई आग्रह गर्नुभयो । सांसद ठाकुर गैरेले अरनिको राजमार्गको कोदारीसम्मको राजमार्ग अनुगमनपछि समितिले सडकको विषयमा सांसदबिच थप छलफल गरेर सरकार, सडक विभागलाई केही निर्देशन दिने बताउनुभयो । उहाँले निर्माण व्यवसायीको ठेक्काको म्याद सकिएको दुई सय दिनसम्म जरिबाना लगाएर काम गराउन सकिने भए पनि दुई सय दिनपछि ठेक्काको म्याद थप गर्ने कि ठेक्का तोड्ने भन्ने विषयमा सडक विभागले नयाँ प्रव्रिmया अगाडि बढाउनुपर्ने बताउनुभयो । 

समितिका सांसदहरू बिना लामा र सुशीला श्रेष्ठले निर्माण व्यवसायीले समयमा नै काम नगर्दा नागरिकले दुःखकष्ट भोग्नु परेको बताउँदै अनुगमनपछि समितिले सरकारलाई निर्देशन दिने बताउनुभयो । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माण व्यवसायीले जेठ १५ भित्र दुई किलोमिटर सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएर कामलाई तीव्रता दिएका कारण ठेक्का रद्द नगरिएको बताउनुभयो । उहाँले विभागले निर्माण कम्पनीसँगको ठेक्का रद्द गर्न चाहे पनि विद्यमान कानुनका कारण नयाँ ठेक्का लगाउन अर्थ मन्त्रालयसँगको सहमति लिनुपर्ने, लागत बढ्ने, निर्माण व्यवसायी अदालत जाने जस्ता धेरै समस्या उत्पन्न हुने भएकाले समस्या रहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले दुई सय दिनसम्म जरिबाना तिरेर काम गर्न सक्ने म्याद कात्तिक मसान्तमा सकिने भएकाले उक्त अवधिसम्मको कामको आधारमा निर्माण व्यवसायीलाई के गर्ने भन्ने विषयमा निर्णय गरिने बताउनुभयो । 

कार्यव्रmममा पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, धुलिखेल–८ का वडाध्यक्ष विनोद गौतम र पाँचखाल नगरपालिका–५ का वडाध्यक्ष सीताराम ढुङ्गानाले सडक नबनेका कारण जनप्रतिनिधिले विभिन्न आरोप खेप्नु परेको बताउनुभयो । डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिडिई मेघराज मरासिनीले कार्यालयले सडक समयमा नै सम्पन्न गर्नका लागि इमानदार भएर काम गरे पनि निर्माण व्यवसायीले भने समयमा काम नगरेको आरोप लगाउनुभयो । निर्माण व्यवसायीका प्रतिनिधि भरत थापाले निर्माण व्यवसायीका तर्फबाट कमीकमजोरी भएको स्वीकार गर्दै वर्षाका कारण दुई किलोमिटर सडक कालोपत्रे गर्न तयारी गरे पनि नसकिएको भन्दै वर्षा र चिसो कम भएकामा चैतसम्म चार किलोमिटर सडक नै कालोपत्रे गरिसक्ने बताउनुभयो ।