• २३ भदौ २०८१, आइतबार

मुग्लिन–पोखरा सडक : डेढ वर्षमा काम सक्ने

blog

तस्बिरः मुख्यमन्त्रीको सचिवालय

फडिन्द्र अधिकारी 

लेखनाथ, भदौ २३ गते। सङ्घीय राजधानी काठमाडौँ र पर्यटनको राजधानी पोखरा जोड्ने मुख्य सडक पृथ्वीराजमार्गमा अहिले यात्रा गर्न कठिन छ।  मुग्लिनदेखि पोखरासम्मको यो सडक स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेको छ। 

राजमार्ग निर्माण ढिलो हुँदा स्थानीय र पर्यटकले अनेक सास्ती व्यहोर्नुपरेको छ।  दुई घण्टामा छिचोलिने बाटो चार घण्टामा पूरा गर्न पनि कठिन भएको छ।  यो समस्या चौतर्फी रूपमा उठेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाटोको छिटो गर्न सरोकारवालालाई ताकेता गर्नुभएको छ।  

मुख्यमन्त्री पाण्डेले सरोकारवालालाई आइतबार कार्यकक्षमै बोलाएर प्रगति विवरण माग्दै काम चाँडै गर्न निर्देशन दिनुभएको हो।  राजमार्गको पूर्वी खण्डको काममा केही प्रगति भए पनि पश्चिम खण्डमा निकै ढिलाइ भएको छ।  मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पूर्वी खण्डमा निर्माण अघि बढ्दा अहिले केही सहज भएको छ तर पश्चिम खण्डमा काम ढिलो हुँदा यात्रुलाई सास्ती भएको छ। ” 

सडक निर्माणमा कुनै समस्या भए प्रदेश सरकारले सहजीकरण गर्ने प्रतिबद्धता गर्दै उहाँले कामको गति बढाउन आग्रह गर्नुभयो।  मुग्लिन पोखरा सडक निर्माण आयोजनाले अहिलेसम्म पूर्वी खण्डमा ६४ प्रतिशत र पश्चिम खण्डमा ३० प्रतिशत काम भएको जनाएको छ।  

छलफलबाट दोहोरो कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी नघट्ने गरी निर्माण सामग्रीमा एकमुष्ट रोयल्टी लिने निर्णय गरेको छ।  अहिले स्थानीय तहपिच्छे रोयल्टी तिर्नुपर्ने र करको दर फरक फरक हुँदा काममा समस्या भएको निर्माण कम्पनीले बारम्बार गुनासो गर्दै आएको छ।  

सडक क्षेत्रका बिजुलीका पोल विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्टाखुल्टी पुरी सवारी सञ्चालन सहज बनाउन आयोजनाले काम गर्ने भएको छ।  

छलफलमा पृथ्वीराजमार्गमा पर्ने पोखरा महानगरपालिका, शुक्लागण्डकी नगरपालिका प्रमुखसहित कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी,  सडक योजनाका प्रमुख, विद्युत प्राधिकरण पोखरा इकाईका प्रमुख लगायत सहभागी हुनुहुन्थ्यो। 

छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले अबको १५ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन्।  मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनदेखि पोखरा खण्ड पश्चिम खण्डमा विभाजन गरी राजमार्ग स्तरोन्नति भइरहेको छ।