• २३ भदौ २०८१, आइतबार

कार्यान्वयनमा आयो प्रदेश सरकारको निर्णय : पूर्व मुख्यमन्त्रीको गाडी फिर्ता

blog

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले फिर्ता गर्नुभएको सरकारी गाडी ।

दिवाकर पोख्रेल 

देउखुरी, भदौ २३ गते।  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गर्नुभएको छ।  

लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्व मुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको वरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले जानकारी दिनुभयो। 

भदौ  २० गते मुख्यमन्त्री कार्यालयमा चालकमार्फत पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गर्नुभएको थियो।  

भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो।  मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाए अनुसार पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताउनुभएको थियो।  

वि.सं. २०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।  यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए।  

पूर्व विशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए।  आर्थिक सङ्कट निम्तिएको समयमा मितव्ययिता अपनाउनको लागि पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको हो।  

पहिलो प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले पनि पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा अन्तरगत सरकारी गाडी प्रयोग गर्दै आउनु भएको छ।  पूर्व सभामुख घर्तीले प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने बारेमा जानकारी गराउनुभएको छ।