• ११ पुस २०८१, बिहिबार

साहित्यकार रिजाल र शाहलाई पशुपति शाह स्मृति पुरस्कार प्रदान

blog

साहित्यिक कृतिको विमोचन गर्दै वरिष्ठ कथाकार रेग्मी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ २३ गते । सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्जले हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष साहित्यकार पुष्कर रिजाल र ज्ञानोदय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा साहित्यकार चरित्रा शाहलाई पशुपति शाह स्मृति पुरस्कारबाट सम्मानित गरेको छ ।

नेपालगन्जमा शनिवार आयोजना गरिएको एक कार्यक्रममा प्रतिष्ठानले वि.स. २०८० र वि.स.२०८१ को पशुपति शाह स्मृति पुरस्कारबाट क्रमशः साहित्यकार रिजाल र शाहलाई सम्मान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मीले १० हजार एक रुपियाँको चेक र सम्मान पत्र प्रदान गरेर दुबै जना साहित्यकारलाई सम्मान गर्नुभयो । 

सो अवसरमा बोल्दै वरिष्ठ कथाकार रेग्मीले पछिल्लो समयमा बाँके जिल्लामा साहित्यीक गतिविधि र कार्यक्रम बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यो क्षेत्रका साहित्यकारहरुले कृति प्रकाशित गर्ने क्रममा पनि तिव्रता दिएकोमा साहित्यको विकासमा यसले ठुलो योगदान गरेको बताउनुभयो ।  

वि.स.२०७८ सालदेखि पशुपति शाह स्मृति पुरस्कार प्रदान गर्न थालिएको आयोजक सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्जले जनाएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा आयोजक संस्थाका अध्यक्ष शशिराम कार्कीको “रूकुमका लोककथा“, जितबहादुर शाहको लघुकथा सङ्ग्रह “ध्यानाकर्षण“ र गणेशा कार्कीको मुक्तक सङ्ग्रह “अभिलाषा“ को पनि विमोचन गरिएको थियो । यी तीनवटै कृतिलाई वरिष्ठ कथाकार रेग्मीले विमोचन गर्नुभएको प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकालले बताउनुभयो । 

उहाँका अनुसार सो अवसरमा रूकुमका लोककथाको समीक्षा लेख प्याकुरेल र ध्यानाकर्षण लघुकथाको समीक्षा हरि सुवेदीले गर्नुभएको थियो । साहित्यकारहरु ऋषि शर्मा सुदामा,  भूपेन्द्र शर्मा र  प्रकाश मरासिनीले रचना सुनाएको कार्यक्रममा पाँच दर्जनभन्दा बढी सर्जकको उपस्थिति थियो ।