• २३ भदौ २०८१, आइतबार

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन बेलायत जाने

blog

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन

वासिङ्टन, भदौ २३ गते । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जानुहुने भएको छ । स्टार्मरको लेबर पार्टीले जुलाईमा भएको चुनावमा जीत हासिल गरेपछि ब्लिन्केनको सोमबार र मङ्गलबारका लागि भ्रमण तय भएको हो । नयाँ नेतृत्व सरकारमा आएसँगै हुन लागेको यो अमेरिकी उच्च अधिकारीको पहिलो भ्रमण हो ।

विदेशमन्त्री ब्लिन्केनले रणनीतिक वार्तामा भाग लिने र ‘अमेरिका र बेलायतबिचको विशेष सम्बन्धलाई पुनः पुष्टि गर्ने’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बताउनुभएको छ ।

मिलरले भन्नुभयो, “उहाँले एसियाका साथै मध्यपूर्व र युक्रेनलाई सहयोग गर्ने हाम्रो सामूहिक प्रयासबारे छलफल गर्नुहुनेछ ।” यसअघि आगामी शुक्रबार स्टार्मरले वासिङ्टनको भ्रमण गर्ने घोषणा ह्वाइट हाउसले गरेको थियो ।

वासिङ्टनमा नेटोको शिखर सम्मेलनमा भाग लिएका स्टार्मरले कार्यभार सम्हालेको केही दिनपछि जुलाई १० मा ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनलाई भेट्नुभएको थियो ।

बेलायत र संयुक्त राज्य अमेरिकाले अधिकांश विश्वव्यापी मुद्दाहरूमा आवश्यकता परेका अवस्थामा आपसी सहकार्य गरेका छन् । साथै, बाइडेन नेतृत्वको डेमोक्रयाटिक नेताहरू ऐतिहासिक रूपमा कन्जरभेटिभभन्दा लेबर पार्टीसँग नजिकको सम्बन्ध राखेको पाइन्छ ।

यद्यपि, स्टार्मरले पदभार ग्रहण गरेदेखि नै इजरायलमाथि कडा कदम चाल्नुभएको छ । उहाँको सरकारले मानवीय कानुनको उल्लङ्घन गर्न प्रयोग हुन सक्ने जोखिमलाई उद्धृत गर्दै केही हतियार ढुवानीहरू स्थगन गर्ने घोषणा गरेको छ ।

लेबर सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारलाई चुनौती दिने कन्जरभेटिभ पूर्ववर्तीको योजना पनि रद्द गरेको छ ।

संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य होइन र नेतन्याहूलाई लक्षित गर्ने प्रयासको विरोध गर्दै इजरायलको जबाफदेहिताको लागि आफ्नै प्रणाली छ भन्ने तर्क गर्दै आएको छ । तर इजरायलको प्रमुख हतियार आपूर्तिकर्ता संयुक्त राज्य अमेरिकाले हतियारको निर्णयको आलोचना गरेन र भन्यो कि ब्रिटेनको मूल्याङ्कन गर्ने आफ्नै प्रक्रिया छ । रासस/एएफपी