• २३ भदौ २०८१, आइतबार

‘लामखुट्टे नष्ट गर’ अभियान

blog

कञ्चन गाउँपालिकामा डेङ्गु नियन्त्रण गर्न टायरमा जमेको पानी सफाइ गरिँदै । तस्बिर : छविलाल पाण्डे 

बुटवल समाचारदाता

बुटवल, भदौ २३ गते । बुटवल उपमहानगरपालिकामा यो वर्ष सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टे खोज र नष्ट गर अभियान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी डेङ्गुको जोखिम बुटवलमा छ । 

गत साउन महिनामा मात्रै बुटवलमा ९१ जनामा डेङ्गु सङ्क्रमण भेटिएको थियो । त्यसपछि तिलोत्तमा र भैरहवामा डेङ्गुको जोखिम उच्च छ । डेङ्गु सङ्क्रमणबाट जोगिन स्वास्थ्य कार्यालय रुपन्देहीले सबैलाई आग्रह गरेको छ । रुपन्देहीमा पछिल्ला समय डेङ्गु सङ्क्रमण बढ्न थालेपछि बुटवलसँगै रुपन्देहीका पालिकामा डेङ्गु नियन्त्रण गर्ने उद्देश्यले खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले पछिल्ला समय रुपन्देहीमा डेङ्गु सङ्क्रमण बढ्न थालेको बताउनुभयो । उहाँले हरेक दिन डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेको बताउँदै यो वर्ष रुपन्देहीमा १९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताउनुभयो । अहिले बुटवल उपमहानगरपालिकासहित १६ वटै पालिकामा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै डेङ्गु नियन्त्रणको प्रयास भएको छ । 

रुपन्देहीको कञ्चन, गैडहवा, सियारी, सैनामैना, देवदह, ओमसतियालगायतका पालिकाका गाउँ गाउँमा डेङ्गु रोगबाट सुरक्षित हुन लामखुट्टेको वासस्थान खोजौँ र नष्ट गरौँ भन्ने अभियान सञ्चालन गरिएको छ । कञ्चन गाउँपालिकाका पाँच वटै वडाका विभिन्न टोलमा डेङ्गु रोगबाट सुरक्षित हुन लामखुट्टेको वासस्थान खोजौँ र नष्ट गरौँ भन्ने अभियान अन्तर्गत सरसफाइ कार्यक्रम गरिएको छ । 

बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले डेङ्गुको सङ्क्रमण फैलिन नपाओस् भन्ने उद्देश्यले बुटवलका प्रायः सबै वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बताउनुभयो । उता गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैडहवाका सबै वडामा डेङ्गु नियन्त्रणका लागि सरसफाइसंगै खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बताउनुभयो । 

डेङ्गु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीमा गत वैशाखदेखि अहिलेसम्म १९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, आमा समूह, विभिन्न क्लब, विद्यालयका प्रतिनिधि र सरोकारवाला खोज र नष्ट गर अभियानमा लागेका छन् ।