• २३ भदौ २०८१, आइतबार

गर्भवती बनाएपछि कुटेर गर्भपतन

blog

इनरुवा समाचारदाता

इनरुवा, भदौ २३ गते । भोक्राहा नरसिंह गाउँपालिकाकी एक २३ वर्षीय युवतीले आफूलाई विवाहको प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको र त्यसपछि गर्भवती भएकोमा केटा पक्षकाले कुटेर गर्भपतन गराएको दाबी गर्नुभएको छ । 

पीडित युवतीले पत्रकार सम्मेलन गरी जिल्ला सदरमुकाम इनरुवा–३ का हसबुल मियाँका २४ वर्षीय छोरा इमारान मियाँले आफूलाई करिब दुई वर्षदेखि फोन कुराकानीमा अविवाहित रहेको र विवाह तिमीसँगै गर्ने भनी एक वर्षअघिदेखि पटक पटक शारीरिक सम्बन्ध राखेर बोकाएको गर्भ पतन गराएको गुनासो गर्नुभएको छ । 

आफ्नो इक्छाविपरीत सुरुमा बलात्कार गरेको, पछि विवाह गर्ने प्रलोभनमा पारेको र २०८० मङ्सिर/पुस महिनामा आफू गर्भवती भएकोमा केटा पक्षका परिवारले तीन महिनाभित्रै कुटेर गर्भपतन गराएको दाबी उहाँको छ ।

शारीरिक सम्बन्धपछि गर्भ बसेको थाहा पाएपछि केटाले औषधी खाएर गर्भ तुहाउन दबाब दिएको र नमानेपछि बच्चा राख्ने र परिवारसँग मिलेर बस्ने भनी झुटो आश्वासन दिएर इमरानले २०८० फागुन २६ गते आफ्नो इनरुवाको घरमा बोलाएकोमा केटासहित उनका बुवा हसुबल मियाँ, आमा आस्मा खातुतसहित थप परिवारका सदस्यले कुटेर गर्भपतन गराएको दाबी युवतीको छ । पीडितले प्रमाणसहित गाउँमा पञ्चायती बस्दा र छलफल गर्दा भोक्राहा नरसिंह गाउँपालिका–५ का वडा अध्यक्ष हबिब मन्सुरीदेखि प्रदेश सभा सदस्य हाजी इसराइल मन्सुरीसम्मको उपस्थितिमा जातीय संस्कार अनुसार मिलाउने कुरा भएको खुलासा गर्नुहुँदै घटनामा दोषी उम्काउने खेल गरेको दाबी गर्नुभयो । समुदायमा के गर्ने भन्ने र घटनाको यथार्थका बारेमा छलफल भएकोमा केटाले राख्ने भन्ने कुरा नगरेपछि आफूलाई अन्याय भएकाले प्रहरीमा पुगेको उहाँले बताउनुभयो । 

पीडाका साथ उजुरी लिएर प्रहरीमा पुगेको र प्रहरीले मुद्दामा आलटाल गरेपछि सबै मेडिकल रिपोर्ट हेरेर जबरजस्ती करणी मुद्दा दर्ता गरेको भए पनि कुटेर गर्भपतन गराएको मुद्दा दर्ता नगरेको पीडितको गुनासो छ । प्रहरीमा मुद्दा गएपछि उक्त मुद्दालाई कमजोर पार्न आफूलाई जबरजस्ती फकाएर भारत लगेर बेहोस बनाई आफूलाई केही नभएको, जबरजस्ती करणी र गर्भपतनसम्बन्धी समस्या नभएको कागज बनाएर प्रहरीमा पेस गरेको सुन्नमा आएको युवतीको भनाइ छ ।

मुद्दालाई कमजोर पार्न मुस्लिम परम्परा अनुसार निका पढाउने भनेर भारत लगेको र केही दिन उतै बन्धकी राखेर भाग्न उम्कन नदिई, फोनसमेत खोसेर के कुन कागजमा निका पेपर भन्दै बेहोसी अवस्थामा सही गराएको र दुई हप्तापछि उम्केर नेपाल आएर प्रहरीमा मुद्दा कहाँसम्म पुगेको छ भनी सोध्न जाँदा हुलाकबाट तिमीले नै केही नभएको र विवाह गरेको पत्र पठाएको होइन ? भन्दै प्रहरीले बताएपछि आफूले सोबारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिँदा बलात्कारको मुद्दा दर्ता भएको र केटा फरार रहेको जानकारी दिएको पीडितको कथन छ ।  घटनाका बारेमा प्रहरीले अनुसन्धान नगरेको र गर्भपतनको मुद्दा दर्ता नगरेकाले पत्रकार सम्मेलन गर्दै मिडियामा आएको उहाँको भनाइ छ । घटनामा आरोपित इमरानका बुवा हसबुल मियाँले केटीले जालसाजी र निराधार आरोप लगाएको प्रतिक्रिया दिनुभयो । 

गर्भपतन भएको बेला हसबुलकहाँबाट १३ हजार रुपियाँ लिएर आफू उपचाररत अस्पतालमा भोक्राहा नरसिंह–५ का वडाध्यक्ष हबिब मन्सुरी आएको पीडितले बताएकाबारेमा प्रतिक्रिया लिँदा मन्सुरीले आंशिक विवरण स्वीकार गर्नुभयो । घटना भएको पुष्टि गर्दै दुई परिवारको कुरा भएकाले मिलेर जाँदा राम्रो हुने उहाँले बताउनुभयो । 

घटनाको विषयमा कोशी प्रदेश सभा सदस्य हाजी इसराइल मन्सुरीले केही कुरा मात्रै थाहा भएको पुष्टि गर्दै केटाकेटीको पारिवारिक कुरा भएकाले मिलेर जाँदा राम्रो हुने बताउनुभयो ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले यो घटनाका विषयमा अनुसन्धान भइरहेको प्रतिक्रिया दिनुभयो ।