• २३ भदौ २०८१, आइतबार

नेपाल टेलिकमको योजना

सबै स्थानीय तहमा ‘एफटिटिएच’

blog

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल ।

काठमाडौँ, भदौ २३ गते । सरकारी लगानीको नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट पुर्‍याउने भएको छ । टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नवीनतम प्रविधिको अवलम्बनसहित सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्‍याउन एफटिटिएच विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । “सबै स्थानीय तहमा क्रमिक रूपमा एफटिटिएच पुर्‍याउने गरी योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।

फिक्स्ड प्रविधिमा आधारित टेलिकमको एफटिटिएच अहिले ७७ जिल्लाका तीन सय वटा स्थानीय तहमा विस्तार भइसकेको छ । प्रायः धेरै स्थानीय तहमा अनलाइनमा आधारित सेवा उपलब्ध रहेकाले बाँकीमा पनि सो प्रविधिमार्फत उच्च गतिको इन्टरनेट पु¥याउने योजनामा काम हुने प्रबन्ध निर्देशक अर्यालले बताउनुभयो । 

टेलिकमले उपलब्ध गराउने एफटिटिएचमा इन्टरनेट, टेलिभिजन र टेलिफोन सुविधासमेत उपलब्ध छ । अहिले ७७ जिल्लामध्ये छ वटा जिल्लामा टेलिभिजन सुविधा भने उपलब्ध छैन । ती जिल्लामा माइक्रोवेभमार्फत कनेक्सन पुर्‍याइएकाले उच्च गतिको इन्टरनेट नपुग्ने भएकाले टेलिभिजन सेवा दिन नसकिएको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “अब भने ती जिल्लामा पनि माइक्रोवेभलाई फाइबरबाटै विस्थापित गर्ने र त्यहाँ पनि टेलिभिजन सेवा पु¥याउने लक्ष्य छ ।” 

चार वर्षका लागि टेलिकमको नेतृत्वमा पुग्नुभएका प्रबन्ध निर्देशक अर्यालले टेलिकमले नयाँ प्रविधि भित्र्याउने, फाइभजी सेवा सुरु गर्ने, अन्तर्राष्ट्रियस्तरमा लागु भएका मार्केटिङ अभ्यास अवलम्बन गर्नेलगायतका कार्य गर्ने योजना रहेको बताउनुभयो । डेटा सेन्टर सञ्चालनमा ल्याउने, सेवाको गुणस्तर बढाउने, फोरजी सेवालाई थप विस्तार गर्ने योजना पनि रहेको उहाँले बताउनुभयो । 

काठमाडौँ उपत्यकाबाहिर टेलिकम टावरको सङ्ख्या थपेर सेवाको गुणस्तर बढाउने टेलिकमको योजना छ । त्यस्तै हाल सञ्चालनमा रहेका टावरलाई पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणसँग पनि सहकार्य गर्ने योजना रहेको अर्यालले जानकारी दिनुभयो । टेलिकमले आफ्नो वितरण प्रणालीलाई पनि थप सेवा उपलब्ध गराएर विस्तार गर्ने भएको छ । कम्पनीका देशभर रहेका वितरकले सिम कार्ड र रिचार्ज कार्ड मात्र बिक्री गरिरहेकाले ती वितरकमार्फत नै एफटिटिएच सेवा उपलब्ध गराउने गरी योजना पनि रहेको अर्यालले बताउनुभयो । “यसले गर्दा एफटिटिएचको पहुँच थप सजिलो हुन्छ,” उहाँले भन्नुभयो । गत आर्थिक वर्षमा कम्पनीले नवीकरण र पेन्सन फन्डबापतको दायित्वबाट मुक्त भएकाले चालु आवमा खुद नाफा बढाउने योजनामा कम्पनी रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै कम्पनीको आम्दानी बढाउन नेटवर्क विस्तारसँगै डेटा सेवामा नयाँ किसिममा सेवा थप गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । सरकारले अनलाइन शिक्षा प्रवर्धन गरिरहेकाले शिक्षासम्बन्धी प्याकेज ल्याउने, स्थानीय तहले सुरक्षाका लागि प्रयोग गरिरहेको सिसिटिभीमा कम्पनीको नेटवर्क प्रयोग बढाउने जस्ता योजना पनि रहेको उहाँले जानकारी दिनुभयो ।