• २२ भदौ २०८१, शनिबार

सञ्चालनमा नआउँदै उद्योग जीर्ण

blog

तस्बिर : गोरखापत्र

अर्घाखाँची समाचारदाता

अर्घाखाँची, भदौ २२ गते । जिल्लाको सन्धिखर्क नगरपालिका–७ मा मह उद्योग स्थापना भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन ।  आर्थिक वर्ष २०६३/६४ को बजेट वक्तव्यमार्फत सरकारले घोषणा गरेको ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ अन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, सानागाउँमा रहेको अर्घाखाँची मह उद्योग प्रालि आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा भवन पूर्ण रूपमा जीर्ण बन्दै गएको छ ।

अर्घाखाँचीमा मह उद्योग सञ्चालनका लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कृषि उद्यम केन्द्रको आर्थिक सहयोगमा एक करोड पाँच लाखको लगानीमा भवन उपकरण खरिद गरे पनि सञ्चालनमा नआउँदै उद्योग जीर्ण अवस्थामा पुगेको हो । मह उत्पादनका लागि कम्पनीको संरचना बनाउन बजेट छुट्याए पनि अहिलेसम्म भवन मात्रै छ ।  

करोडौँ लगानीमा निर्माण गरिएको अर्घाखाँची मह उद्योग प्रालि अहिले लथालिङ्ग अवस्थामा छ । तत्कालीन समयमा उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीमार्फत सञ्चालन गर्ने गरी योजना सुरु गरी सर्वसाधारणमार्फत सेयर सदस्यबापत रकम उठाए पनि त्यसको अहिले कुनै हिसाबकिताबसमेत खोज्दा उपलब्ध हुन सकेको छैन । तत्कालीन समयका मह उद्योग प्रालि उपभोक्ता समितिका अध्यक्ष तथा तत्कालीन उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीका सचिवालय सदस्य लक्ष्मण कँडेलले जिल्लामा कच्चा पदार्थको अभावले मह उत्पादन हुन नसकेको, सञ्चालनमा ल्याउनका लागि स्थानीय सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउन प्रयत्न भइरहेको दाबी गर्नुभयो । सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले उद्योग स्थापना भए पनि भवन बनाउने निकायले सरकारलाई हस्तान्तरण नगर्नु तथा निर्माण गर्ने निकायले सञ्चालनमा ल्याउन नसक्नुको कारण खोज्नुपर्ने बताउनुभयो । 

तत्कालीन अवस्थामा भवन निर्माण गर्दा ४८ लाख ५६ हजार पाँच सय ६२ रुपियाँ बराबरको भवन निर्माण भएको उद्योगनजिक राखिएको सूचना बोर्डमा लेखिएको छ । एक करोड आठ लाख ४३ हजार ४३८ रुपियाँ मेसिनरी औजार र अन्य कामका लागि रकम खर्च भएको देखिन्छ ।