काठमाडौं, भदौ १९ गते । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
शंकास्पद अवस्थामा बागमती प्रदेश ०२–०३७ प ९६९६ नम्बरको मोटरसाइकल चलाइरहेका मुलपानीमै बस्ने पर्साको ठोरी गाउँपालिका ३ का ४० वर्षीय कृतिबहादुर थापालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०३५ प ५१७५ रहेको उक्त मोटरसाइकल काठमाडौँकै नयाँ बानेश्वर स्थित पपिलबोटबाट हराएको भनी काठमाडौँकै गोकर्णेश्वर नगरपालिका ५ बस्ने चन्द्रप्रसाद तिमिल्सिनाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिनु भएको जानकारी उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।