• ११ मंसिर २०८१, मङ्गलबार

ऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबिच भेट

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबिच भेटवार्ता हुँदै ।

काठमाडौँ, भदौ १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबिच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो । भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताउनुभयो । आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने उहाँले बताउनुभयो । 

दुई ठुला राजनीतिक दल मिलेर  दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडिबीलाई आग्रह गर्नुभयो । उहाँले नेपाल मध्यम आय भएको देशमा रूपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

भेटमा एडिबीका प्रतिनिधि काउकोइसले एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणमा देखिएका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराउनुभएको थियो । उहाँले एडिबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको बताउनुभयो ।

भेटमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, ऊर्जा विज्ञ प्रबल अधिकारीलगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । रासस