• ११ मंसिर २०८१, मङ्गलबार

सामुदायिक वनबाट विकासमा साझेदारी

blog

सामुदायिक वनबाट निर्माण सम्पन्न भएको सिँचाइ कुलो ।

गणेश खनाल 

अर्घाखाँची, भदौ १९ गते । अर्घाखाँची शीतगङ्गा नगरपालिका–११, १२, १३ र १४ का विभिन्न ठाउँमा रहेका सामुदायिक वनले गाउँबस्तीको विकासमा साझेदारी गर्दै आएका छन् । सामुदायिक वनको आम्दानीबाट थुप्रै विकास निर्माणका काम भइरहेका छन् । शीतगङ्गा–१३, धिरीखोला सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट सडक, सिँचाइ, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट, विद्युत् विस्तार, बाख्रापालन, कुखुरापालन, वैदेशिक रोजगारीमा जानेलाई आर्थिक सहयोग गर्ने गरिएको छ । धिरीखोला सामुदायिक वनका अध्यक्ष रेमकला गुरुङले यसो गर्दा गाउँका सबै उपभाक्ता आत्मनिर्भर हुँदै गएको बताउनुभयो ।  

गोरुसिङे–सन्धिखर्क सडकको डोहोटेबाट भङ्गाला गाउँमा जाने, भङ्गाला गाउँको भित्री सडक पनि निर्माण तथा मर्मत भएको सामुदायिक वनका कोषाध्यक्ष वसन्त भुसालले बताउनुभयो । उहाँका अनुसार यो वर्ष ३५ लाख र विगतका वर्षमा गरी झन्डै ७५ लाख रुपियाँको लगानीमा भङ्गाला सिँचाइ योजना पूरा गरिएको छ । सिँचाइ योजना सम्पन्न भएपछि उपभोक्ताले तरकारी खेती गरेर दैनिक कपिलवस्तु लगेर बेचबिखन गर्दै आएका छन् । अहिले  ६० बिघा खेतमा सिँचाइ सुविधा पुगेपछि किसान खेती गर्न लागेका छन् ।

यस्तै शीतगङ्गा–१२ मा पनि डोहोटे सामुदायिक वनको आम्दानीले सिँचाइ, विद्युत्का काम, बाख्रा वितरण, हातेट्याक्टर वितरण गरिएको छ । सामुदायिक वनका अध्यक्ष रेसम बन्जाडेले बिउ वितरण गरेपछि मौसमी तथा बेमौसमी तरकारी उत्पादन बढेको बताउनुभयो । विकट बस्तीमा सामुदायिक वनको आम्दानीबाट गाउँ अहिले झिलिमिली भएपछि उपभोक्ता हर्षित भएका हुन् । विद्यालय भवन, विद्यालयमा निजी स्रोतबाट शिक्षक राख्न सहज भएको स्थानीय गणेश पुलामीले बताउनुभयो ।

धिरीखोला सामुदायिक वनले खानेपानी मर्मतमा वार्षिक ३० हजार रुपियाँ खर्च गर्छ । स्थानीय नारायण पौडेलले गाउँमा भगवती मन्दिर सात लाख रुपियाँको लागतमा निर्माण गरिएको बताउनुभयो । शीतगङ्गाका समाजसेवी हिम्मत पोख्रेलले गाउँमा चाहिने विकासका कामका लागि राज्यका मुख ताक्नु पर्दैन । सामुदायिक वन सक्षम भएमा गर्न सकिन्छ भन्ने उदाहरण अर्घाखाँचीका सामुदायिक वनले देखाएको बताउनुभयो ।

वन अधिकृत मदन ढुङ्गानाले उपभोक्ताको आयआर्जन बढाउन तरकारी खेती गर्ने, गाईभैँसी, बाख्रा, बङ्गुरपालन गर्ने कृषकलाई वार्षिक तीन प्रतिशत ब्याजदरमा ऋण लगानी पनि सामुदायिक वनले गर्ने गरेको बताउनुभयो । धिरीखोलामा भैँसीपालनका लागि १६, बाख्रापालनका लागि १३, कुखुरापालनका लागि पाँच र बङ्गुरपालनमा तीन जनाले वार्षिक तीन प्रतिशत ब्याजदरमा ऋण पाएका छन् । उपभोक्ता  वसन्तप्रसाद भुसालले भैँसीपालनका लागि वार्षिक तीन प्रतिशत ब्याजदरमा ७० हजार रुपियाँ ऋण लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भैँसीपालन गरेर दुध बिक्रीबाट आम्दानी गरिरहेको छु ।” कृषि तथा पशुपालन गर्ने उपभोक्ताको हितका लागि उनीहरूको मागका आधारमा हातेट्याक्टर वितरण, घाँस काट्न चाप कटहर वितरण गरिएको छ । बिउका लागि बोका पनि वितरण गरिएको छ । 

रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका सात जना गाउँमा फर्किएर स्वरोजगारका काम गरिरहेका छन् । विदेशबाट फर्किएका दुई जनालाई अटोरिक्सा खरिदका लागि निब्र्याजी ऋण पनि प्रदान गरिएको छ । साउदी अरबबाट फर्किएका विष्णु घम र भारतको दिल्लीमा रोजगारी गरेर फर्किएका दिलीप घमले तीन लाख रुपियाँ निब्र्याजी ऋण लिएका छन् ।