• ४ जेठ २०८१, शुक्रबार

एमालेको उद्देश्य देश विकास : अध्यक्ष ओली

blog

ललितपुरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : केशव गुरुङ

ललितपुर, वैशाख २६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मुख्य उद्देश्य देश विकास गर्नु रहेको बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले देश बनाउने विषय साझा अभिभारा भएकाले यसका लागि सबैले संकल्प गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “पार्टीका उम्मेदवार जिताउन छाप हान्ने जिम्मा नगरबासीको र विकासको जिम्मा एमालेको, ललितपुरसँगै सिंगो देशलाई नै विकास गर्न समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यसहित एमाले अघि बढेको छ ।” उहाँले एमालेकै नेतृत्वमा ज्येष्ठ नागरिक भत्ता, आफ्नो गाउँ, आफैं बनाऔं, सामाजिक सुरक्षा भत्ता, सडक मानवको व्यवस्थापन, तुइन विस्थापनलगायतका काम भएको बताउनुभयो । 

यो निर्वाचन परमादेशी र जनादेशको शक्ति बीचको लडाइ भएको आरोप लगाउँदै जनतामा भरपर्ने शक्ति एमाले भएकोले गठबन्धन र एमालेबीच स्थानीय निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने अध्यक्ष ओलीको दाबी छ । राष्ट्रियता, लोकतन्त्र, संविधान कार्यान्वयन, सुशासनको पक्षमा एमाले छ, उहाँले भन्नुभयो, एमालेले ज्येष्ठ नागरिकको एक लाख रुपियाँसम्मको स्वास्थ्य बिमा, युवालाई तालिम तथा रोजगारी सिर्जनाको काम गरेको छ । 

अध्यक्ष ओलीले भारतसँग कूटनीतिक पहलमार्फत दुवै पक्षका विज्ञको टोली बनाइयो, हुलाकी राजमार्ग, शहरी विकास आयोजना, सुरुङ, कृषि आधुनिकीकरण एमालेले गरेको बताउनुभयो । जनसेवाका कामका लागि आग्रह गर्न चाहन्छु, पार्टीको नीति कार्यान्वयनका लागि पार्टीका उम्मेदवारलाई जिताउन उहाँले मतदातासँग आह्वान गर्नुभयो । ललितपुर महानगरपालिकामा एमालेको तर्फबाट नगर प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य ‘आस्था’ लगायतका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।