• ११ असोज २०८१, शुक्रबार

तिजको दरमा कस्ता खानेकुरा खाने ?

blog

काठमाडौँ, भदौ १९ गते ।  तिजको अघिल्लो दिन माइतीले (बाबु आमा, दाजुभाइ) छोरी–चेलीलाई घरमा बोलाई मीठा–मीठा परिकार पकाएर दर खुवाउने गर्दछन् । दरमा ठाउँ अनुसार विभिन्न मिठा–मिठा परिकार साथै खिर, ढकने, सेल रोटी, केरा लगायतका खाना, फलफूल खाने प्रचलन छ । 

तिजको दर जति मिठो हुन्छ स्वास्थ्यका हिसाबले उत्ति नै स्वास्थ्यकर हुने वरिष्ठ पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठी बताउनुहुन्छ । प्राचीन कालदेखि दूधबाट बनेको परिकार जस्तै खिर, चाम्रे, ढकनी, पुरी, आलुको अचार र घरमानै बनाएर दरका रूपमा खाने प्रचलन छ । यस्ता खानेकुरामा प्रोटिन, काब्रोहाइड्रेड, क्यालोरी प्रशस्त मात्रमा हुने हुँदा दिनभर व्रत बस्न शरीरमा शक्ति प्रदान गर्न मद्दत पुग्ने उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “परिकार अनुसार त्यसबाट पाउने पोषण तत्त्व पनि फरक फरक हुने गर्छ । तिजमा पानीसमेत नखाई व्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक पर्ने भएकाले विभिन्न परिकारको मिश्रित दर खाने चलन चलिआएको हुन सक्छ ।” 

यस्ता खानेकुराले अघिल्लो दिन दर खाएर भोलिपल्ट तिजको दिनमा निराहार व्रत बस्नको लागि शरीरमा ऊर्जा प्राप्त गर्न सहयोग गर्ने डा. ठकुराठीको तर्क छ । 

पछिल्लो समय एक महिना अघिदेखि नै दर खाने रमाइलो गरेर तिज मनाउने प्रचलन बढ्दै गएको छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउनु दुखद भएको डा. ठकुराठीको ठहर छ ।  

उहाँ भन्नुहुन्छ, “लामो समयसम्म अत्यधिक गुलियो, चिल्लो, धेरै प्रोटिनयुक्त खानेकुरा खाँदा स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिने गर्छ ।” डा. ठकुराठीका अनुसार लामो समय यस्ता खानेकुरा खानाले पेटमा समस्या हुने, आन्द्रा र पाचन क्रियालाई भार पर्ने गर्छ । 

धेरै प्रोटिनयुक्त खानेकुरा खाँदा सेरोटिन भन्ने हर्मोन निकाल्ने हुँदा निद्रा लाग्ने, थकाई लाग्ने, अल्छी लाग्ने जस्ता तत्कालीन समस्या निम्तिनुका साथै दीर्घकालीन स्वास्थ्य समस्या निम्तने उहाँको भनाइ छ । 

तिजको दरका फाइदा बेफाइदाका विषयमा केन्द्रित भएर वरिष्ठ पोषणविद् प्रा.डा.मनसा थापा ठकुराठीसँग गरिएको भिडियो संवाद ।

भिडियो :मनोजरत्न शाही र केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।