बबई समाचारदाता
बबई (बर्दिया), फागुन २९ गते । बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिका जोड्ने कर्णाली नदीस्थित सत्तीघाटमा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माणको करिब ८६ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ ।
२०८३ असोज १६ गतेभित्र सम्पन्न हुने गरी पुल निर्माणका लागि २०७९ पुस १७ गते सम्झौता भएको थियो । ७५२ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त पुल निर्माणका लागि एक अर्ब १८ करोड चार लाख ८२ हजार रुपियाँ लागत निर्धारण गरिएको छ ।
हालसम्म पुलका लागि आवश्यक १३ वटा पिल्लर निर्माण सम्पन्न भइसकेका छन् । पुलमा निर्माण गर्नुपर्ने ११ वटा स्ल्याबमध्ये नौ वटाको काम सकिएको छ भने बाँकी संरचना निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।
पुल सेक्टर कार्यालय बाँकेकी योजना प्रमुख साविना रानाभाटका अनुसार बजेट अभाव नआएमा सम्झौता गरिएको समयमै पुल निर्माण सम्पन्न हुने विश्वास गरिएको छ ।
कर्णाली नदीमा पक्की पुल नहुँदा गेरुवा गाउँपालिकाका स्थानीयलाई टीकापुर आवतजावत गर्न डुङ्गाको सहारा लिनुपर्ने अवस्था थियो । धेरै जसो स्थानीयले राजापुरस्थित सत्तीघाट हुँदै लामो दुरी पार गरेर आवतजावत गर्ने गरेका थिए । पुल निर्माण सम्पन्न भएपछि भने दुई क्षेत्रबिचको दुरी निकै घट्ने अपेक्षा गरिएको छ । गेरुवा गाउँपालिकाका स्थानीय पुष्कर काफ्लेले पुल निर्माण भएपछि टीकापुर आउजाउ गर्न सहज हुने बताउनुभयो ।