• १७ भदौ २०८१, सोमबार

स्वर्गको एक टुक्रा बुकी (फोटो फिचर)

blog

बुकी क्षेत्रका दहखर्क, टीकाधारा, गरपाछेडा, फुर्सेलगायत विभिन्न ठाउँहरु । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), भदौ १७ गते ।
चुम्न मन लाग्ने आँखै अगाडि गुर्जा, दोगाडी, चुरेन, पुथा, सिस्ने, धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णलगायत सेताम्मे हिमालका लस्कर, साथमा काला पत्थर ।

वरिपरी अग्लाअग्ला घँसेनी पहाडका टाकुरो । केही खोँच, भिराला र केहीसम्म परेका विशाल पाटनहरु । ती रङ्गीबिरङ्गी फूल र घँसेनी पाटन, पाटनका टाकुरो क्षेत्रमा चर्दै गरेका र खर्कमा भेडाका बथानहरु । आफ्नै सुरमा चर्दै गरेका घोडा, खच्चड, गाईभैंसीहरु । गोठाला बस्ने सानासाना गोठहरु । चिसो हावा, यस क्षेत्रमा पाइने विभिन्न जडीबुटी, चराचुरुङ्गी र जङ्गली जनावर । क्षणभरमै बदलिरहने मौसम । बादलको घुम्टोले छोपिएको रुपवती ढोरपाटनको बुकी ।

भौगोलिक विविधता भएको ढोरपाटन बुकीको प्राकृतिक सौन्दर्य अलौकिक छ । बागलुङ, पूर्वीरुकुम र म्याग्दी जिल्लामा फैलिएको नेपालको एक मात्र ढोरपाटन शिकार आरक्ष भित्र पर्ने बुकीलाई धरतीमा स्वर्गको एक टुक्रा हो भन्दा फरक नपर्ला ।


करिब तीन हजारदेखि ६ हजार पाँच सय मिटर उचाइमा अवस्थित ढोरपाटनको बुकी प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ हो । बुकी क्षेत्रमा सुनदह, जलजला, टिकाधारा, मनसुन, गरपाछेडा, स्याङ, दहखर्क, फागुने, नौडल्ले, फुर्सेलगायत कयौं रमणीय पाटनहरु छन् । रमणीय ठाउँहरु मिलेर बनेको बुकीले जोकोहीलाई पनि मोहित बनाइदिन्छ । खोलानाला, जङ्गल हुँदै घण्टौं उकालो–तेर्सो हिँडाइको थकान यीनै दृश्यहरुले क्षणभरमै मेटाइदिन्छ ।

मनसुनी जाडो समयमा हिउँले ढाकिएका टाकुरो र पाटनहरु मनमोहक देखिन्छन् । बुकीमा पाइला टेक्न र बुकीलाई चुम्न चाहनेहरुका यात्रालाई थप रोचक र स्मरणीय बनाइदिन्छ बुकीले ।

बुकी पुगेपछि लाग्छ ढोरपाटन बुकी चरणखर्क र पेशेवर शिकारीहरुका लागि मात्र नभई मन बहलाउनका निम्ती घुम्नै पर्ने एक प्रमुख गन्तव्य हो । यसको सुन्दरता बयान गरी साध्य छैन । ढोरपाटन र ढोरपाटन भित्र लुकेको बुकीबारेमा उत्सुक हुनेहरुका लागि बुकी पुग्नै पर्ने गन्तव्य हो । बुकीको परम्परा र गोठाला जनजिवनलाई नजिकबाट नियाल्न तथा साहसीक पदयात्रा गर्नेका लागि पनि यो एक उपयुक्त गन्तव्य हो । ‘‘ढोरपाटनको बुकी प्रकृतिले दिएको अमूल्य उपहार हो । यसको थप प्रवद्र्धन गर्न सके प्रमुख पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ ।,’’ पोखराबाट घुम्न आउनुभएका राज बुढाले भन्नुभयो । पछिल्लो समय यहाँ घुम्न जाने स्वदेशी पर्यटकको सङ्ख्यामा केही बृद्धि हुँदै गएको छ । बुकी पर्यटकीय हिसाबले एक ‘भर्जिन’ गन्तव्य हो । 


पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले बुकीको दहखर्कमा गत असार अन्तिमदेखि गोठ स्टे (गोठबास) सञ्चालनमा ल्याइएको ढोरपाटन नगरपालिका–९, का व्यवसायी सन्देश थापाले बताउनुभयो । ढोरपाटन नगरपालिका–६,का जङ्गबहादुर अदैका अनुसार म्याग्दी, बागलुङ, पूर्वी रुकुम र रोल्पा समेतका किसानहरुले भेडाबाख्रा, गाई, भैँसी, घोडा खच्चडलगायत घरपालुवा जनावरहरु लिएर वैशाख अन्तिमदेखि असोज महिनासम्मका लागि बर्खायाममा बुकी अर्थात् ‘लेक’ उक्लने गर्दछन्  । यसैलाई ‘बुकी उक्लनु’ भन्छन् ।

प्रयाप्त चरणखर्क भएकाले बर्खायाममा करिब साढे दुई महिनाका लागि भेडाबाख्रा लिएर बुकी उक्लिने बागलुङकै खुङखानीका रणबहादुर विश्वर्कमा र रोल्पाका वीरबहादुर क्षेत्रीले बताउनुभयो । एक हजार तीन सय २५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको शिकार आरक्षमा नाउर, झारल, थार र हिमाली भालु लगायत ३२ प्रजातिका स्तनधारी जनावर तथा यहाँ दुर्लभ एवम् संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिर लगायत १६४ प्रजातिका चराहरू पाइन्छन् ।

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ ।

पछिल्लो समयमा उपत्यका आउने स्वदेशसी पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि बुकी उक्लिनेको सङ्ख्या भने न्यून रहेको ढोरपाटन सामुदायीक होटलका सञ्चालक धिरेन्द्र घर्ती मगरले बताउनुभयो । सडक स्तरोन्नती नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । बागलुङको ढोरपाटन उपत्यका, म्याग्दी  र पुर्वी रुकुमका विभिन्न ठाउँ हुँदै बुकी जान सकिन्छ ।