• १६ भदौ २०८१, आइतबार

तीज संस्कृतिलाई पर्यटनसँग जोड्न महोत्सव

blog

गण्डकी,  भदौ १६ गते । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले तीज संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ यही भदौ २१ र २२ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ गर्नेभएको छ ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित हरितालिका तीज अवसरमा दोस्रो संस्करणको महोत्सव गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिनुुभयो ।

नेपालको प्राचीन संस्कार, संस्कृति, कला र धर्मलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई यसवर्ष पनि निरन्तरता दिन लागेको बताउनुुभयो । 

महोत्सवका अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुद, पर्यटन सम्बन्धित बहसलगायतका कार्यक्रम हुने महासचिव अनिता खड्का भट्टराईले जानकारी दिनुुभयो । उहाँका अनुसार महोत्सवको पहिलो दिन बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको र्‍याली गर्दै वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा महोत्सवको औपचारिक उद्घाटन गरिनेछ । 

उक्त दिन सांस्कृतिक कार्यक्रम एवम् तीज गीत प्रतियोगिता सुरु हुनेछ । त्यस्तै दोस्रो दिन खेलकुदका कार्यक्रमसँगै तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा समूहगत छलफल गरिनेछ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री खुस्बु ओली र डा राजु अधिकारीबीच छलफल हुनेछ । 

प्रतियोगिताका लागि हालसम्म १६ वटा समूहले दर्ता गरिसकेको कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले जानकारी दिनुुभयो । पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गर्नुपर्नेछ । 

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः रु. ३० हजार, रु. २० हजार, रु. १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना हुने १० समूहलार्ई रु. पाँच हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा टेवानका सल्लाहकार वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर मात्र नहुने बताउँदै सरकारले आवश्यक कार्ययोजना ल्याउनुपर्नेमा जोड दिनुुभयो । सल्लाहकार बोबरजङ्ग गुरुङले पदमार्गहरू हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै हालै सार्वजनिक गरिएको गुरुङ सम्पदा पदमार्ग एउटा महत्वपूर्ण विकल्प हुने धारणा राख्नुुभयो । पोखरा पर्यटन राजधानी घोषण भैसकेका अवस्थामा अब यसको दायरालाई फराकिलो बनाउनु आवश्यक भएको उहाँको भनाइ छ ।

त्यस अवसरमा संस्थाका निवर्तमान अध्यक्ष रेणु थापा, उपाध्यक्ष प्रभा सुवेदी, सचिव शोभा अधिकारी पौडेललगायतले महोत्सवलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । रासस