• १६ भदौ २०८१, आइतबार

वन अधिकृतको सराहना

blog

ढल्केबर समाचारदाता

ढल्केबर, भदौ १६ गते ।  राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जोगाउने जिल्ला वनका कर्मचारीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सराहना गर्नुभएको छ । बाराको कोल्हवी नगरपालिका–२, बसनचौरीस्थित राष्ट्रिय वनको १११ बिघा १२ कट्ठा १६ धुर जग्गा किर्ते गरी अतिक्रमण गर्ने प्रयास विफल तुल्याउने डिभिजनल वन कार्यालय बाराका प्रमुख विनोद सिंहलाई मुख्यमन्त्री सिंहले सराहना गर्नुभएको हो । 

मुख्यमन्त्री सिंहले डिभिजनल वन अधिकृत सिंहलाई टेलिफोन गरी राष्ट्रिय वन क्षेत्रको जग्गा अवैध तरिकाले भूस्वामित्व प्राप्त गर्न खोज्नेहरूको दुष्प्रयास रोक्न अनुसन्धान कार्यमा संलग्न सबै कर्मचारी धन्यवादका पात्र रहेको भन्दै सराहना गर्नुभयो । साबिक सपही गाविस वडा नं. १ र हाल कोल्हवी नगरपालिका–२ मा पर्ने कित्ता नम्बर १०, १२, १३, १४, १५ र १६ का व्यक्तिको लालपुर्जा र नक्साभित्रका जग्गामा नेपाली सेनाले गरेको वृक्षरोपण खाली गराउन लीलादेवी बुढाथोकीले नेपाली सेनाको जङ्गी अड्डा काठमाडौँमा निवेदन पेस गर्नुभएको थियो । त्यसउपर डिभिजन वन कार्यालय बाराले जाँचबुझ गर्दा साबिक सपही गाविस वडा नं. १ (घ) को नाममा जनिएको कित्ता नंं १ देखि १९ को कुल क्षेत्रफल १११ बिघा, १२ कट्ठा १६ धुर अर्थात् ७५.५३ हेक्टर जग्गा हाल कोल्हवी नगरपालिका–२, बारास्थित तामागढी साझेदारी वन उपभोक्ता समूहले संरक्षण तथा व्यवस्थापन गर्दै आएको खुलेको थियो । 

डिभिजन वन कार्यालय बाराले सो जग्गाको स्वामित्व नेपाल सरकारमा रहेको राष्ट्रिय वन क्षेत्र हो भनी ठहर गर्दै सो जग्गाको हक कोही कसैलाई पनि हस्तान्तरण गर्नेतर्फ कामकारबाही नगराउन भूमिसुधार तथा मालपोत कार्यालय बारा नापी कार्यालयलाई लेखी पठाएको छ ।

मुख्यमन्त्री सिंहले सरकार मातहतका संयन्त्रले गर्ने कामबाट नै सरकारको भूमिका स्थापित हुने भन्दै भुइँतहमा कार्यरत जनशक्तिले इमानदारी तथा निष्ठापूर्वक काम गरिदिँदा सरकारबाट प्रवाह हुने सेवा संस्थागत र सुशासनयुक्त हुने बताउनुभयो । उहाँले असल काम गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको प्रस्ट पार्नुभयो ।  

उहाँले कोल्हवीको वनको जग्गा कब्जा प्रकरणमा किर्ते कागज बनाउने र बनाउन सघाउने कार्यमा संलग्नहरूलाई कारबाही गर्न प्रदेश सरकारले सङ्घीय सरकारलाई सिफारिस गर्ने जानकारी दिनुभयो ।