• १६ भदौ २०८१, आइतबार

ऊर्जाविज्ञमा अधिकारी

blog

काठमाडौँ, भदौ १६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रीपरिषद्को भदौ १३ को बैठकले उहाँलाई वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरेको हो ।

इलेक्ट्रिकल इन्जिनियरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त हुनुभएका अधिकारी करिब तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील हुनुहुन्छ । काभ्रेको रोशी गाउँपालिका–९ का अधिकारी ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिनुहुन्छ । नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले शुक्रबार मन्त्रालयमा पदभारसमेत ग्रहण गर्नुभएको छ ।

अधिकारीले नेपालको अन्तरदेशीय विद्युत् व्यापार प्रवर्धन तथा बजारीकरण, विद्युत्को आन्तरिक खपत विस्तारलगायत ऊर्जा क्षेत्रको उन्नयनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्रमा आफूले भूमिका खेल्ने बताउनुभएको छ । अधिकारीले आन्तरिक खपत विस्तारका लागि क्षेत्रगत कार्ययोजना ल्याउने जानकारी दिनुभयो । ऊर्जा सुरक्षाको विषयलाई पनि विशेष प्राथमिकतामा राखेर नीतिगत व्यवस्थापनमा आफूले भूमिका खेल्ने उहाँको भनाइ छ । “सरकारले ऊर्जा क्षेत्रमा दिगो र दीर्घकालीन विकास हासिल गर्ने लक्ष्य राखेको छ,” उहाँले भन्नुभयो, “यही अनुसार ऊर्जा मिश्रणमा स्वच्छ ऊर्जाको हिस्सा बढाउने गरी नीति तथा कार्यक्रम बनाउनुपर्ने छ ।”

अधिकारीले विद्युत् ऐनलगायत अन्य नीतिगत अवरोधका कारण विद्युत् प्रसारण तथा व्यापारमा निजी क्षेत्रले चाहना राख्दाराख्दै पनि सहभागिता जनाउन नपाएको बताउँदै आफूले सोही अनुसार कानुनी तथा नितीगत व्यवस्थापनमा लाग्ने जानकारी दिनुभयो । नीति, योजना बनाउने मात्रै नभई कार्यान्वयनमा पनि सरकारका निकायबिच समन्वय र सहकार्य सिर्जना गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

विद्युत् व्यापारमा भारतसँग थप संवादमार्फत अवस्थालाई दुवै देशको हित प्रवर्धन गरी विद्युत् व्यापारलाई थप सहज र परिमाण विस्तारमा लाग्ने उहाँको भनाइ छ ।