• ११ मंसिर २०८१, मङ्गलबार

विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर अघि बढ्छौँ : अर्थमन्त्री पौडेल

blog

अस्पताल भवनको शिलान्यास गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, साथमा मुख्यमन्त्री चेतनारायण आचार्य । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल 

भैरहवा, भदौ १५ गते । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताउनुभएको छ । 

बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै उहाँले विकास निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने बताउनुभयो । ६ अर्ब १८ करोड लागतको यो आयोजना समयमै सक्न निर्देशन दिँदै उहाँले समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । पाँच वर्षमा निर्माण सक्ने सम्झौता भए पनि तीन वर्षमा सक्ने गरी काम गर्ने निर्माण कम्पनीले बताएपछि पौडेलले बोलेर होइन, गरेर देखाउन आग्रह गर्नुभयो । “छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी अगाडि बढ्नुपर्छ”–उहाँले भन्नुभयो ।

यो आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट पनि निगरानी गर्नुपर्ने पौडेलले बताउनुभयो । उहाँले अस्पतालको यो भवन लुम्बिनी प्रदेशमा अगाडि बढेका अन्य आयोजनाहरू मध्ये महत्त्वपूर्ण हुने पनि बताउनुभयो । “भवन मात्र निर्माण गरेर हुँदैन, त्यसको प्रभावकारी व्यवस्थापन पनि जरुरी हुन्छ, यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ”–उहाँले भन्नुभयो, “सङ्घीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।”

१२ सय शय्याको अस्पतालमा ठुलो सङ्ख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताउनुभयो । अस्पताल भवन बन्दैमा अत्याधुनिक उपकरण छैन भने प्रभावकारी उपचार नहुने भन्दै पौडेलले सबै हिसाबले सुविधा सम्पन्न अस्पताल जरुरी रहेको बताउनुभयो ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका अर्थमन्त्री पौडेलले रुपन्देहीलाई आफूले विकासमा नमुना बनाउन चाहेको बताउनुभयो । “रुपन्देहीलाई विकासमा नमुना बनाउन सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरौँ”–उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो अस्पताल भवनले सिङ्गो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताउनुभयो । “यो आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कमी हुन दिँदैन”–उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती (वसन्त) ले नयाँ बन्ने अस्पतालको भवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताउनुभयो । यो प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्ने सभामुख घर्तीको भनाई छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतिपछि यो नमुना अस्पताल बन्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पुरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ ।

अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष् रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष् रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । हाल ६५ जना कामदारबाट कम्तीमा दैनिक १० घण्टाका दरले काम भइरहेको हो ।