• १६ भदौ २०८१, आइतबार

घुमीफिरी रुम्जाटार

blog

 नेपाली उखान टुक्कामा प्रयोग भइरहने नाम हो ओखलढुङ्गाको रुम्जाटार । वरिपरि पहाडले घेरिएको सुन्दर फाँट । यसलाई पहाडकी रानी पनि भनिन्छ । पुराना शैलीका घर र यहाँको भौगोलिक सुन्दरताले जो कोहीलाई पनि मोहित बनाउँछ । संरचनागत हिसाबमा भने सुनसान छैन रुम्जाटार । पुराना घरको ठाउँमा पक्की घर बनेका छन्, बाटो पुगेको छ । ठोट्ने र सिस्ने रुम्जाटारको करेसाबाटै बगे जस्तो देखिन्छ । आँगनमै छ हवाई मैदान । रुम्जाटारको ओल्लो छेउदेखि पल्लो छेउसम्म गुरुङ समुदायको बाहुल्य छ । सुन्तलाको लोकप्रियता उस्तै । यहाँको रातोमाटोमा फलेको सुन्तलाको स्वाद पुससम्म चाख्न पाइन्छ । अधिकांश घरको बनोट एकै प्रकारका छन् तर गुरुङ बाहुल्य रुम्जाटार हिजोआज गुरुङविहीन बनेको छ । बस्ती सुनसान भएको छ । यहाँका गुरुङ समुदाय बेलायती सेनामा भर्ती हुन थालेसँगै सुनसान बन्न थालेको थियो ।  

रुम्जाटारको भूगोल ३.९ किलोमिटर उत्तर दक्षिण लम्बाइ र दुई किलोमिटर पूर्वपश्चिम चौडाइमा फैलिएको छ । दुई दशकअघिसम्म रुम्जाटारमा ९० प्रतिशत गुरुङ समुदायको बसोबास थियो । अहिले झन्डै ७० घरपरिवार मात्रै गुरुङ छन् । अन्य समुदायको प्रवेश र रोजगारीको खोजीसँगै हाल गुरुङ समुदायको सङ्ख्या ह्वात्तै घटेको स्थानीय बासिन्दा बताउँछन् । बेलायतमै रुम्जाटारे गुरुङहरू झन्डै ११४ घर छन् । बाँकी रहेका गुरुङ समुदायका घरमा रुम्जाटारबाहिरका मान्छे आएर बसेका छन् । साँच्चै रुम्जाटार जस्तो बनाउन विदेशमा बस्ने रुम्जाटारवासी बेला बेला रुम्जाटार फर्किएर आउनु पर्छ । हाल रुम्जाटारमा बसोबास गर्दै आएकाको चाहना पनि त्यही छ । 

प्राकृतिक रूपमा रमणीय भए पनि विकासको हिसाबले यो ठाउँ ओझेलमा परेको छ । कुनै बेलाको चर्चाको रुम्जाटार राजनीतिक खिचातानीले पनि सुनसान बनेको छ । सिद्धिचरण नगरपालिकाका निवर्तमान उपप्रमुख इच्छाकुमारी गुरुङका अनुसार सुविधा खोज्नेको सङ्ख्या बढ्दै गएपछि कोही बेलायततिर गए  भने कोही काठमाडौँतिर । कतिपय त रोजगारीको खोजीमै रुम्जाटार छाडे तर बेलायती सेनामा रहेका गुरुङ परिवारले आफ्नो घर कुर्न अरू मान्छे राखेका छन् । कतिपयचाहिँ नेपाल आएका बेला रुम्जाटारसम्म आउने गरेका छन् ।  नआउनेले पनि पुराना घरलाई संरक्षण गर्न थाल्नुभएको छ । यो आफ्नो जन्मभूमिप्रतिको प्रेम पनि हो । 

विसं २०४० सम्म रुम्जाटारमा करिब ५० हजार भेडा पालिन्थ्यो । एक घरमा कम्तीमा ३०/४० भेडा हुन्थे । धेरै जसोले सयभन्दा बढी भेडा पाल्थे । उहिले समूहमा मिसाएर भेडा चराउने चलन पनि थियो । खड्गसिंह गुरुङको सबैभन्दा ठुलो भेडीगोठ थियो । बुढापाकाका अनुसार एक हजार भेडा त उहाँसँगै थिए । रुम्जाटारदेखि सोलुखुम्बुको टाप्टिङ, पिकेलगायतका क्षेत्रमा हजारौँ रोपनी भेडा चराउने खर्क उहाँकै नाममा थियो । २०४५ मा नापी हुँदा हदबन्दीले गर्दा ती खर्क सबै जङ्गल र अरू व्यक्तिको नाममा दर्ता भयो । त्यसपछि व्रmमशः रुम्जाटारमा भेडा पाल्न कम हुँदै गयो, हराउँदै गए भेडीगोठ पनि । अहिले रुम्जाटारमा दुई वटा मात्र भेडीगोठ बाँकी छन्  ।

रुम्जाटार कुनै बेला राडी बुन्ने ठाउँले पनि परिचित थियो । रुम्जाटार विमानस्थलदेखि विमानमार्फत राडी काठमाडौँ लगिन्थ्यो । भक्तपुरका व्यापारी पनि राडीपाखी लिन विमानस्थलसम्मै आइपुग्थे । रुम्जाटारको प्रत्येक घरमा राडीपाखी बुनिन्थ्यो तर रुम्जाटारको दुई सयबर्से इतिहास मेटिँदै जान थालेको छ । गुरुङ समुदायका पछिल्ला पुस्ताले पुख्र्यौली व्यवसायलाई निरन्तरता दिन छाडेका छन् । औँलामा गन्न सक्नेले मात्रै सुखदुःख पुख्र्याैली व्यवसाय धानिरहेका छन् । “कसैलाई पुख्र्याैली व्यवसाय त्याग्न गाह्रो, कसैलाई अँगाल्न,” स्थानीय सुदर्शन गुरुङले भन्नुभयो, “पुख्र्यौली व्यवसाय धराप परेपछि राडीपाखी बुन्दा चाहिने राटा, चर्खा, उन फर्काउने, कात्ने, राडी फर्काउने सामग्री कामै नलाग्ने भइसक्यो । घुम्दै रुम्जाटार आउनेले सोध्दा पुराना ती सामान देखाउनुबाहेक अर्काे विकल्प छैन । के गर्नु बाहिरबाट आउनेहरू भेडीगोठ हेर्न खोज्छन् । कोही भेडीगोठाला । कसैले चरिचरनबारे सोधेर हैरान पार्छन् ।” चरिचरन अभाव र उन्नत जातका भेडापालनले निरन्तरता नपाउँदा रुम्जाटारका नामी राडीपाखी भनेर कहलिए पनि उत्पादन घट्दै गएको छ । स्थानीय घरेलु उद्योगले प्रोत्साहन पाएको छैन । त्यसैले पनि रुम्जाटारमा झन्डै दुई सय वर्षभन्दाअघिदेखि गरिँदै आएको व्यवसाय धरापमा परेको छ । 

घुम्दैफिर्दै रुम्जाटार फेरि भेटौँला

दुःख नमान सानी बाँचे भेटौँला...

इटहरीका कलाकार बालकृष्ण कार्कीले ‘घुमीफिरी रुम्जाटार’ जोड्दै २०४३/४४ ताका गीत लेखे तर ओखलढुङ्गाको त्यो गाउँसँग उहाँको साइनो थिएन तर पनि रुम्जाटारलाई चिनाउन यो गीत एक हदसम्म काफी नै छ । अहिले पनि नेपालीको जिब्रोमा घुमीफिरी रुम्जाटार भन्ने थेगोमा चर्चित छ । थेगोले घुम्दैफिर्दै रुम्जाटार पुगिन्छ भन्ने सङ्केत गरे पनि यो पुरानो पहाडी बस्ती छाडेर हिँडेका धेरै जना फेरि फर्किएका छैनन् ।

  रुम्जाटार कि रुम्दाटार ?

हालको रुम्जाटारबारे थुप्रै किंवदन्ती छन् । रुम्जाटारमा पहिले रुम्दाली राईको बसोबास रहेको थियो । रुम्दाली राई बसोबास गर्ने भएकाले रुम्जाटारलाई पहिले रुम्दाटार भनिन्थ्यो । रुम्दाटार अपभ्रंश हुँदै बोलीचालीमा सजिलोका लागि रुम्जाटार भन्न थालिएको हो । नेपालीमा एउटा उखान छ, घुमीफिरी रुम्जाटार । यो उखान नेपाली समाजमा बारम्बार प्रयोग भइरहन्छ । यो उखान कसरी रह्यो त ? यसको एउटै उत्तर भने छैन । उखानमा घुमीफिरी रुम्जाटार भन्ने गरिन्छ । सिद्धिचरण नगरपालिका–४ का ८२ वर्षीय महेश कोर्माचाका अनुसार घुमीफिरी नभएर घुमी फेरी रुम्जाटार हो । अर्थात् जता गए पनि फेरि रुम्जाटार नै फर्किनुपर्ने भएकाले ‘घुमी फेरी रुम्जाटार’ भन्ने गरिएको हो । अर्काथरीले रुम्दाली राईहरू बसोबास गर्ने भएकाले रुम्दाटारको अपभ्रंश भएर रुम्जाटार भन्ने गर्छन् भने एकाथरीले भेडीगोठालाहरू भेडा लिएर लेकबेँसी गर्दा यही रुम्जाटारमा बास बस्ने गरेका कारण पनि ‘घुमी फेरी रुम्जाटार’ भनिएको हो ।

भाषालाई जीवन्त राख्ने भाषिक तìव हो उखान । भाषाको सशक्त अभिव्यक्तिका व्रmममा उखानको प्रयोग भएको हुन्छ । ‘घुम्दैफिर्दै रुम्जाटार’ उखानलाई पनि अभिधात्मक र लक्षणात्मक अर्थमा व्याख्या विश्लेषण गर्न सकिन्छ । भाषिक व्यवहारमा यो उखानले छोटोमै परिपक्व व्यवहारको अभिव्यक्ति दिने, गहकिला अनुभव व्यक्त गर्ने, सामाजिक, सांस्कृतिक प्रतिविम्ब व्यक्त गर्ने काम गरेको छ । रुम्जाटार यस्तो टार हो जहाँ कुनै पनि अवस्थामा पुग्नैपर्ने हुन्छ । सोझो अर्थमा ‘घुम्दैफिर्दै रुम्जाटार’ को अर्थ मानिसले संसारै हाँके पनि आखिर ऊ पुनः आफ्नै ठाउँमा आउनै पर्छ ।

अलपत्र विमानस्थल

विसं २०१९ मा रुम्जाटारमा विमानस्थल बनाउन सर्भे भएको थियो । धावनमार्ग कच्ची भए पनि २०३१ साल देखि नियमित उडान भयो  । वर्षौंसम्म जिल्लावासीले कालोपत्रेको माग गरेपछि धावनमार्ग कालोपत्रे त भयो तर विमानस्थल बन्द हुन पुग्यो  । विमानस्थल कालोपत्रे सुरु हुँदा मध्यपहाडी राजमार्ग अन्तर्गत घुर्मी–खुर्कोट बाटोको ट्र्याक भर्खर खुल्दै थियो  । सुनकोशीमा पुल नबनुन्जेल विमान चलिरहेकै थियो  । पक्की पुल पनि बन्यो  । विमानका लागि यात्रु पाइन छाडे  । बन्द भएको विमानस्थल लामो समयदेखि कार्यालय सहयोगीको भरमा छ  । ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापतिसमेत रहनुभएका कोर्माचा केही वर्ष ब्रिटिस सेनामा जागिरे हुनुहुन्थ्यो । प्राविधिक ज्ञान भएकाले उहाँले रुम्जाटारमा विमानस्थल बनाउन निकै मद्दत गर्नुभएको थियो । ८२ वर्षीय कोर्माचाले विमानस्थल बनाउँदाका दिनलाई निकै गम्भीर भएर  सम्झिनुहुन्छ । 

अहिले रुम्जाटार आउनेहरू दिउँसो आउने र साँझ नपर्दै फर्किने गर्छन् । यसले यहाँको व्यवसायलाई खासै टेवा पुगेको छैन । गुरुङ परिवार पुख्र्याैली जग्गा बेच्न मान्दैनन् । बेचबिखन खासै हुँदैन । सिराहाबाट रुम्जाटार आउनुभएका अहमत मन्सुरीले रुम्जाटारमै घरजम गरेर बस्न थाल्नुभएको ३६ वर्ष भइसक्यो । त्यतिबेला स्वास्थ्यकर्मीका रूपमा आउनुभएका मन्सुरी अहिले होटेल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । बाहिरको मान्छे आएर मात्रै व्यवसाय सामान्य चलेको छ । अहमत मन्सुरीले त्यतिबेला हवाइजहाज चल्दाको रुम्जाटार र अहिलेको रुम्जाटारको तुलना नै गर्न नसकिने बताउनुभयो, वास्तवमा हो पनि । रुम्जाटारमा झन्डै ७३१ घरपरिवार छ भने जनसङ्ख्या चार हजार २०१ छ । रुम्जाटारमा दलित समुदायको जनसङ्ख्या गुरुङ समुदायपछि दोस्रो बाहुल्यतामा छ । कुनै बेला ज्ञान दिलदासले रुम्जाटारमा बसेर छुवाछुत र जातपात तोड्ने आन्दोलन सुरु गरेको कुरा लेखक मनिराज गुरुङले ‘रुम्जाटार नामक’ पुस्तकमा लेख्नुभएको छ तर रुम्जाटार छुवाछुतमुक्त भने छैन । आर्थिक रूपमा सामान्य अवस्थाका छन् । राजनीतिक अवस्था नाजुक छ । स्थानीय दलित अगुवा कृष्णकुमारी गजमेर आफैँले केही वर्षअघि मन्दिरमा पूजा गर्न जाँदा जातीय विभेद भोग्नु प-यो । जुन घटनाले रुम्जाटारलाई लज्जित पनि बनायो ।  

गुरुङ समुदायका पछिल्ला पुस्ताले पुख्र्यौली व्यवसायलाई निरन्तरता दिन छाडेका छन् । औँलामा गन्न सक्नेले मात्रै सुखदुःख पुख्र्याैली व्यवसाय धानिरहेका छन् । पछिल्लो समय रुम्जाटारमा विकासक्रम बढेको छ । स्थानीय पनि त्यत्तिकै जागरुक भएका छन् । रुम्जाटारलाई पहिलेकै जस्तो बनाउन युवापुस्ता सक्रिय बनेका छन् । रुम्जाटार संरक्षण अभियानका अभियन्ता प्रकाश कटवालका अनुसार रुम्जाटारलाई पहिलेकै लयमा फर्काउन पछिल्ला केही वर्षमा रुम्जाटारवासी लागिपरेका छन् ।

दरबारसँगको नाता 

पहिलो नेपाली रेकर्ड गर्ने गायिका मेलवादेवी गुरुङको जन्म यही रुम्जाटारमा भएको थियो । रुम्जाटारको काफल बोटमा मेलवादेवीको जन्म विसं १९५९ सालमा भए पनि हुलाक टिकटमा भने उहाँको जन्म विसं १९५४ सालमा भएको उल्लेख गरिएको छ । मेलवादेवीका दर्जनौँ गीत कर्णप्रिय छन्, जुन गीत रेकर्ड हुँदा उहाँको स्वर बिग्रिसकेको थियो । हाल सुन्न पाइने उहाँका सबै गीत बिग्रिएको स्वरमा रेकर्ड गरिएका हुन् ।

रुम्जाटारकी मेलवादेवी गुरुङ चन्द्रशमशेरको तालिमे नानीका रूपमा दरबार पस्नुभएको थियो । नेपालको पहिलो महिला गायिका गुरुङलाई ‘ठुमरीकी रानी’ पनि भनिन्थ्यो । स्थानीय चम्पा सिंहकी कान्छी दिदी त्रिभुवनको कान्छी रानीसाहेब हुन् । रुम्जाटारकी हैया नानी राजा वीरेन्द्रकी धर्मआमा हुनुहुन्थ्यो । रुम्जाटारकै रम्बा गुरुङ (गुरुङलाई दरबारमा गीता गुरुङ र पछि मनकुमारी शाह भनेरसमेत चिनाइयो) राजा महेन्द्रकी पहिलो रानी बन्नुभयो तर अवैध मानिनुभयो । महेन्द्र र रम्बाबाट जन्मेका रवीन्द्र शाह वीरेन्द्रभन्दा जेठो भए पनि राजा हुन पाएनन् ।

लोभलाग्दो युवा सक्रियता 

कोशी प्रदेश सरकारले रुम्जाटारलाई स्मार्ट सिटी बनाउने अवधारणा ल्याएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि बनेको छ  तर अब स्मार्ट सिटीकै काम अगाडि बढ्छ कि बढ्दैन भन्ने अन्योल छ तर रुम्जाटार संरक्षण अभियानका अभियन्ता प्रकाश कटवाललगायतले रुम्जाटारलाई हिजोको जस्तै बनाउने गरी सुरु गरेको अभियान एकदमै लोभलाग्दो र आशालाग्दो छ । 

कुनै बेला तनहुँको बन्दीपुर पनि हालको रुम्जाटार जस्तै सुनसान थियो । त्यहाँका घर भुतबङ्गला जस्तै थिए तर बन्दीपुरवासीमा आएको जागरणले हाल बन्दीपुर पर्यटकीय स्थल बनेको छ, त्यसरी नै एक पटक रुम्जाटारलाई विगत जस्तै बनाउन, रुम्जाटारको सान फर्काउन र फेरि घुमीफिरी रुम्जाटार बनाउन रुम्जाटारवासीले फेरि कम्मर कस्नुपर्ने बेला भइसकेको छ ।