• १६ भदौ २०८१, आइतबार

उत्कृष्ट खेलाडीलाई कार उपहार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १५  गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडीको घोषणा गरी प्रोत्साहनस्वरूप कार प्रदान गर्ने निर्णय गरेको छ । खेलाडी, प्रशिक्षक र रेफ्री सम्मान कार्य लामो समयदेखि स्थगित रहेको थियो । मङ्गलबार र बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार एन्फाले उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही दुई लाख रुपियाँ र मोटरसाइकल÷स्कुटर प्रदान गर्ने निर्णय गरेको छ । एन्फाले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेलाई पाँच लाख रुपियाँ र मोटरसाइकल/स्कुटर प्रदान गर्ने पनि निर्णय गरेको छ । एन्फाले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक चयनका लागि एन्फा केन्द्रीय सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको छ । जसमा हरि खड्का र  सञ्जीव मिश्र सदस्य हुनुहुन्छ ।

रङ्गशाला बनाउन जग्गा माग 

एन्फाले सुविधासम्पन्न अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन सरकारसँग जग्गा माग गर्ने निर्णय गरेको छ । नेपालमा करिब २५ देखि ४० हजार दर्शक क्षमता भएको सुधिवासम्पन्न आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डसहितको फुटबल रङ्गशाला आवश्यक रहेका भन्दै नेपाल सरकारसँग जग्गा माग गर्ने निर्णय गरेको हो । जग्गा प्राप्त भएमा प्रारम्भमा नयाँ रङ्गशाला निर्माण गर्नका लागि २२ लाख अमेरिकी डलर विनियोजन गरिने भएको छ । एन्फाले जग्गा प्राप्तिका लागि सरकारसँग समन्वय गर्न एन्फाका उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा समिति गठन गरेको छ । दशरथ रङ्गशालाको एन्फाबाट रेखदेख, संरक्षण, मर्मत र परिचालन गर्न नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई अनुरोध गर्ने भएको छ । दशरथ रङ्गशालाको मैदान मर्मतका लागि तीन लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरिएको छ ।

महासचिवको तलब अढाई लाख 

एन्फाले महासचिवको तलब दुई हजार डलर बनाउने निर्णय गरेको छ । यस निर्णय अनुसार महासचिव किरण राईले अब मासिक करिब दुई लाख ६९ हजार रुपियाँ तलब प्राप्त गर्नुहुने छ । यसअघि महासचिवको मासिक तलब एक लाख ५० हजार रुपियाँ रहेको थियो । बैठकको पहिलो दिन नै गरिएको यस प्रस्तावमा केही पदाधिकारीको असन्तुष्टि रहे पनि अन्ततः बहुमतको निर्णयबाट महासचिवको तलब दुई हजार डलर बनाइएको थियो । यसै गरी राष्ट्रिय टिमका खेलाडीको मासिक भत्तामा पनि वृद्धि भएको छ । खेलाडीको मासिक भत्ता ३० हजार रुपियाँ पु¥याइएको छ । यसअघि राष्ट्रिय फुटबलरले मासिक १८ हजार रुपियाँ पाउँदै आएका थिए । यसै गरी फिफा रेफ्रीहरूलाई मासिक २० हजार रुपियाँ प्रदान गर्ने निर्णय पनि भएको छ । यसबाहेक राष्ट्रिय टिमका पुरुष र महिला खेलाडीका साथै उमेर समूहका राष्ट्रिय खेलाडी, रेफ्री, एन्फा पदाधिकारी तथा सचिवालयका कर्मचारीको स्वास्थ्य बिमा गर्ने निर्णय भएको छ ।

कात्तिकमा साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिप फुटबल कात्तिक १ देखि १४ तारिखसम्म दशरथ रङ्गशालामा गरिने भएको छ । जेठमै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले साफ महिला च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो । एन्फाको बैठकले साफ महिला च्याम्पियनसिपको मिति तय गरेको हो । नेपालमा साफ महिला च्याम्पियनसिप लगातार तेस्रो पटक हुन लागेको हो । यसै गरी एन्फा महिला लिग भदौ १६ गते सुरु गरिने भएको छ । सो प्रतियोगिता सञ्चालन गर्न सरिला श्रेष्ठको संयोजकत्वमा सन्त थापामगर र वृन्दा देवान सदस्य रहेको सञ्चालक समिति गठन गरिएको छ ।

नयाँ प्रशिक्षकको खोजी 

एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको छ । त्यसैले एन्फाले अब राष्ट्रिय फुटबल टिमका लागि नयाँ प्रशिक्षक खोजी गर्न प्रक्रिया थाल्ने भएको छ । यसबाहेक ‘बी’ डिभिजन लिग, ग्रासरुट कार्यव्रmम गर्ने, विभिन्न जिल्लामा मैदान निर्माण गर्नेलगायतका निर्णय पनि गरिएको छ ।