• १६ भदौ २०८१, आइतबार

नेपाल–भारत बालनाटक महोत्सव सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १५ गते । बालबालिकाको अभिनय कला प्रवर्धनको उद्देश्यसहित ‘छुनुमुनु नेपाल–भारत बालनाटक महोत्सव–२०८१’ शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । छुनुमुनुद्वारा आयोजित बालनाटक महोत्सव भदौ २० सम्म नेपाल फिल्म क्याम्पसमा सञ्चालन हुने जनाइएको छ । महोत्सवका निर्देशक प्रभाकर न्यौपानेका अनुसार नेपाल र भारतका बालकलाकारलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।  

महोत्सवमा नेपाल र भारतका गरी १० वटा नाटक मञ्चन गरिने जनाइएको छ । लेखक तथा निर्देशक राजन भुजेलको नाटक ‘फस्ट’ पहिलो दिन मञ्चन गरिएको छ । सो नाटक भ्याली भ्यु स्कुलका विद्यार्थीले प्रस्तुत गरेका हुन् । शनिबारसमेत राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक ‘जुनेली’ मञ्चन गरिने जनाइएको छ । महोत्सवमा सबिन कट्टेलको ‘कालकोठरी’ र ‘पोसाक’ मञ्चन गरिने छ । कोलकाता इएसओ नाटक सिखीको डा. तपस दासद्वारा निर्देशित नाटक ‘ए मेरो देश’ र चाँगुनारायण माध्यमिक विद्यालयको मञ्जु गिरीद्वारा निर्देशित नाटक ‘सिम्रिकको अठोट’ र स्कुल अफ ड्रिमको डा. राम होलागुन्डीद्वारा निर्देशित ‘मिट्टी कि खोलनी’ नाटक मञ्चन गरिने जनाइएको छ । अन्तिम दिन एभरेस्ट स्कुलको सुमन जीवनद्वारा निर्देशित नाटक ‘सिबियु चरी’ र हरिकुल नाटक समूहको दिनेशराज शर्माद्वारा निर्देशित नाटक ‘मौन हल्ला’ मञ्चन हुने आयोजक संस्थाले जनाएको छ ।