• २७ वैशाख २०८१, बिहिबार

वर्षामा मेलम्चीको पानी रोकिने

blog

काठमाडौँ, वैशाख २६ गते । काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ ।मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढीपहिरोले आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले पूर्वसावधानीपूर्वक पानीको वितरण कार्य रोकिने जानकारी दिनुभयो ।

उहाँले कहिलेदेखि कहिलेसम्म मनसुन सक्रिय हुनेबारे मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरूसँग छलफल गरेर पानीको वितरण कार्य रोकिने बताउनुभयो ।गत वर्ष असार १ गते नै मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडबक्र्सलगायतको संंरचनामा ठूलो क्षति पुगेको स्मरण गर्दै उहाँले यो वर्ष आयोजनाले थप सतर्कता अपनाउन खोजेको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “अहिले अस्थायी संरचनाबाट परीक्षणका रूपमा मेलम्चीको पानी काठमाडौँ पठाइएको हो । पुनः बाढीपहिरो आयो भने सुरुङहरू पुरिन सक्छन् । बीस वर्षको लगानी स्वाहा हुनसक्छ । त्यसैले पानीको वितरण रोकिन लागिएको हो ।”

अहिले बेलामा नै आयोजनाको संरचनालाई बचाउने हो भने अर्को वर्ष उपत्यकावासीलाई चाँडै पानी खुवाउन सकिने उहाँले स्पष्ट पार्नुभयो । गतवर्ष उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द गरिएको थियो । सोही दिनमा मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्सलगायतका विभिन्न संरचनामा क्षति पुगे पनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन । अहिले मेलम्चीको १७ करोड र काठमाडौँ उपत्यका खानेपानी आयोजनाअन्तर्गतका विभिन्न स्रोतबाट सङ्कलित दस करोड गरी कुल २७ करोड लिटर पानी काठमाडौँ उपत्यकामा वितरण भइरहेको छ ।

भूगर्भ तथा खानी विभागका भूगर्भविद् शिव बाँस्कोटाले पोहोर साल बाढीपहिरो आएको ठाउँमा कुनै पनि रोकथाम तथा पूर्वतयारी नगरिएको हुनाले यो वर्षको वर्षायाममा पनि बाढीपहिरोको सम्भावना कायमै रहेको स्पष्ट पार्नुभयो ।