• १४ भदौ २०८१, शुक्रबार

उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन गृहमन्त्रीको निर्देशन

blog

गृहमन्त्री रमेश लेखक चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरूको बारेमा जानकारी लिनुहुँदै । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौँ, भदौ १३ गते । गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।

बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरूको बारेमा जानकारी लिनुहुँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणाममुखी भई आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरूसँग आग्रह गर्नुभएको हो ।

उहाँले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच उपभोक्ताहरूलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकले सहज र सरल रूपमा उपभोग्य वस्तुहरू पाएको महसुस हुनेगरी परिणाममुखी काम गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि निमन्त्रण गर्न, अखाद्यवस्तुहरु चाडबाडको बेलामा बिक्री हुन नदिन पनि उच्च निगरानी गर्न निर्देशन दिनुभयो ।


‘‘चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच उपभोक्ताहरूलाई हुनुपर्छ । त्यसका लागि हाम्रो सहयोग कहाँनेर हुनसक्छ ? भन्नेकुरा हो । परिणाममा देखिनुपर्‍यो । भाषणमा देखिएर हुँदैन । परिणाममा देखिनुपर्छ । कृत्रिम अभाव कुनै हालतले पनि हुनु भएन । कुनै ठाउँमा कृत्रिम अभाव भएको छ, बजारमा चिनी छैन, कहाँनेर गोदाममा हजार बोरा चिनी राखिएको भए कुनै बेला सह्य हुँदैन । त्यसका लागि हेर्ने निकाय को हो ? हेनुपर्‍यो ।’’

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘प्रहरी प्रशासनको के सहयोग चाहिन्छ, गृह मन्त्रालय पूराका पूरा सहयोग गर्नेछ । दसैँ तिहार आयो की मूल्यवृद्धि हुनु भएन । मूल्यवृद्धिलाई नजिकबाट सूक्ष्म ढङ्गले हेरेर नियन्त्रण गर्नुपर्छ । गुणस्तरहीन सामान बजारमा देखिनुभएन । अखाद्यवस्तुहरु चाडबाडको बेलामा बिक्री हुने भन्दै त्यसमा सचेत रहन र निगरानी बढाउनुपर्छ । सवारीसाधनको भाडको विषय पनि छ । दसैँ तिहार आयो की भाडा वृद्धि हुन्छ । यसमा पनि ख्याल गर्नुपर्छ ।’’

गृहमन्त्री लेखकले दसैँ तिहारमा हुने सवारीसाधनको मूल्यवृद्धिको विषयमा पनि निगरानी बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभयो ।