• १३ भदौ २०८१, बिहिबार

स्वास्थ्य बिमालाई पाँच लाख पुर्‍याउने : मन्त्री पौडेल

blog

स्वास्थ्य बीमालाई पाँच लाख पुर्‍याउन कोशी अस्पताल विराटनगर र भक्तपुर क्यान्सर अस्पतालबिच सम्झौतापत्र । तस्बिर : रासस

मोरङ, भदौ १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई पाँच लाख पुर्‍याउने बताउनुभएको छ ।

कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबिच बिहीबार यहाँ सम्झौतापत्र हस्ताक्षर समारोहमा उहाँले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम ३१ अर्बलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बिमालाई रु पाँच लाख पुर्‍याउने जानकारी दिनुभयो ।

मन्त्री पौडेलले मुलुकमा सुर्ती र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बिमा बोर्डमा हाल्नुपर्ने भन्दै कोशी अस्पतालको सेवा व्यापक सुधारको खाँचो रहेकामा जोड दिनुभयो ।

उहाँले आज हस्ताक्षर र सम्झौताले अर्बुद रोग उपचारका लागि नागरिकलाई चितवन र भक्तपुरमा जानुपर्ने बाध्यतालाई केही हदसम्म अन्त्य हुने धारणा राख्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, “जनताको स्वास्थ्यसँग कसैले पनि खेलबाड गर्नुहुँदैन, जनतालाई लोकतन्त्रको महसुस गराउन स्वास्थ्य सेवा सुविधा सहज, सरलीकृत, गुणस्तरीय र निःशुल्क हुनुपर्छ, आफ्ना क्षमताले भ्याएसम्म जनताको उपचारमा लाग्नुपर्छ ।”

उहाँले कोशी अस्पतालको सेवा भद्रगोल भएकामा चिन्ता व्यक्त गर्दै जनताको सेवा सुविधालाई मन्त्रालयले बनाएको नियम, कानुन र नीतिको पालन गर्न निर्देशन दिनुभयो । मन्त्री पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा हो भन्दै अस्पतालले नागरिकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोशी अस्पताललाई मागी खाने भाँडो नबनाउन आग्रह गर्दै यसलाई सेवा दिने संस्थाको रूपमा कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्ज्वल चालिसे  र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

हाललाई भक्तपुर क्यान्सर अस्पतालले कोशी अस्पतालमा प्रत्येक महिना छ देखि १० जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने भक्तपुर अस्पतालका निर्देशक चालिसेले जानकारी दिनुभयो । कोशी अस्पतालले विसं २०७२ देखि अर्बुद रोगको उपचार गर्दै आइरहेको छ । रासस