• १३ भदौ २०८१, बिहिबार

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ नेता सीबिच वार्ताको तयारी

blog

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङ

बेइजिङ, भदौ १३ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आगामी केही हप्तामा वार्ता गर्न आतुर रहेको ह्वाइट हाउसका शीर्ष सहयोगी जेक सुलिभानले बताउनुभएको छ ।

सन् २०१६ पछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले बेइजिङमा तीन दिनसम्म चलेको वार्तापछि सीसँग भेटवार्ता गर्नुभएको छ । अमेरिकी सहयोगी जापान, फिलिपिन्ससँग चीनको सुरक्षासम्बन्धी विवाद बढेका समय सुलिभानले बेइजिङको भ्रमण गर्नुभएको हो ।

बेइजिङको अलङ्कृत ‘ग्रेट हल अफ द पिपुल’मा बिहीबार सीसँगको भेटमा उहाँले भन्नुभयो, “राष्ट्रपति बाइडेन आगामी हप्ताहरूमा तपाईंसँग फेरि संवाद गर्न उत्सुक हुनुहुन्छ ।

उहाँले अगाडि भन्नुभयो, “राष्ट्रपति बाइडेन साउथ चाइना सी क्षेत्रमा देखिएको समस्यालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र यसका कारण प्रतिस्पर्धा द्वन्द्व वा मुठभेड नहोस् भन्नेमा प्रतिबद्ध हुनुहुन्छ । राष्ट्रपति बाइडेनले जहाँ आफुहरूकोे हित मिल्छ त्यहाँ मिलेर काम गर्न सकियोस् भन्नेमा दृढ हुनुहुन्छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चीन र अमेरिकाबिच वैचारिक भिन्नताका रहेपनि यसलाई वार्ता र छलफलका माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिनेमा चीन विश्वस्त रहेको भेटमा चिनियाँ राष्ट्रपति सीले सुलिभानसँग बताउनुभएको छ ।

“चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासको लक्ष्यप्रति चीनको प्रतिबद्धतामा कुनै परिवर्तन आएको छैन,” भेटमा सीले भन्नुभयो । “हामीलाई विश्वास छ अमेरिका र चीनले मिलेर अघि बढ्नेछन्,” चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै सुलिभानले भन्नुभयो । 

बुधबार सुलिभान र उच्च कूटनीतिज्ञ वाङले आफ्ना नेताहरूले आगामी हप्ताहरूमा वार्ता गर्ने योजनाबारे छलफल गरेका थिए। पछिल्लो समय विवादित सामुद्रिक क्षेत्रमा चीनको बढ्दो आक्रामक दृष्टिकोणलाई लिएर उनीहरूबीच तनाव बढेको देखिन्छ । रासस/एएफपी