• १६ भदौ २०८१, आइतबार

पहिरोले पाइप बगाउँदा खानेपानीको समस्या

blog

पहिराेले क्षति पुर्‍याएको स्थानमा जिआइ पाइप जडान गर्दै प्राविधिक । तस्बिर : अमरराज नहर्की

अमराज नहर्की

तनहुँ,भदौ १४ गते । पहिराले पटक-पटक खानेपानीको पाइप बगाउँदा तनहुँको व्यास नगरपालिका–१ र १२ का दुई हजार भन्दा धेरै घरधुरीका बासिन्दाले समस्या भोग्दै आएका छन् । 

व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी आयोजनाको पाइपमा क्षति पुर्‍याएकोले समस्या भोग्दै आएका हुन् । 

निरन्तरको वर्षाले गर्दा व्यास नगरपालिका–१३ निउरोघारी नजिक पहिरो जाँदा खानेपानी मुहानको पाइप लाइनमा एक साता अघि क्षति पुगेको हो । हालसम्म पाँच पटक पहिरो गएको र एक महिनाको अवधिमा मात्रै दुई पटक पहिरो खसेकाले खानेपानी वितरणमा समस्या भएको उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो । 

बुद्धसिंह मार्गलाई व्यवस्थित नगर्दा पहिरो खस्ने समस्या बारम्बार आइरहेको दरैले बताउनुभयो । दरैले भन्नुभयो, ‘पानी परेपछि रातमा निन्द्रा पर्दैन फेरि पहिरो खसेर पाइप बगायो होला जस्तो लाग्छ ।’ 

एक महिना अघि क्षति पुगेपछि मर्मत गरिएकोमा पुन पहिरोले भत्किएपछि डेढ लाख खर्च गरेर जिआई पाइप जडान गरिएको अध्यक्ष दरैले जानकारी दिनुभयो । 

खानेपानी आयोजनाले वडा नम्बर १ र १२ का दुई हजार ६८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको छ । समितिले चार वटा मुहानबाट प्रति सेकेण्ड कूल २० लिटर पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गरिरहेको छ ।